Home Login
पोर्चुगल

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक आज

पोर्चुगल — नेपाल र पोर्चुगलबीचको कुटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आज ‘द्विपक्षीय परामर्श संयन्त्र’ को पहिलो बैठक आयोजना हुँदैछ । दुई देशबीचको सम्बन्धमा एउटा महत्वपूर्ण फड्को मानिएको यस बैठकको सहअध्यक्षता नेपाल सरकारका परराष्ट्र सचिवले गर्नुहुनेछ । बैठकमा पोर्चुगलका लागि नेपाली राजदूत, उपनियोग प्रमुख (DCM) लगायत दुवै देशका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने कार्यक्रम तय भएको छ ।

यस ऐतिहासिक बैठकमा विशेष गरी पोर्चुगलमा बसोबास गरिरहेका नेपाली समुदायले भोग्नुपरेका विविध समस्या र समसामयिक विषयहरूलाई प्रमुखताका साथ उठाइने अपेक्षा गरिएको छ । पछिल्लो समय प्रहरी रिपोर्टमा प्रयोग भएका नक्कली छाप वा कागजातका कारण धेरै नेपालीहरू कानुनी र प्रशासनिक झमेलामा परिरहेका छन् । बैठकमा यस्ता गम्भीर समस्याको समाधानका लागि आवश्यक समन्वय गर्ने र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दुई देशबीच सहकार्यका उपायहरू पहिल्याउने विषयमा घनीभूत छलफल हुनेछ ।

बैठकको अर्को महत्वपूर्ण एजेण्डा नेपालमा पोर्चुगलको राजदूतावास वा कन्सुलर सेवा स्थापना गर्ने रहेको छ । हाल नेपालमा पोर्चुगलको आफ्नै दूतावास नहुँदा नेपाली नागरिकहरूले प्रशासनिक र भिसा सम्बन्धी सेवा लिन कठिनाइ भोग्दै आएका छन् । नेपालमा पोर्चुगलको स्थायी कूटनीतिक नियोग स्थापना भएमा दुई देशबीचको प्रशासनिक, सेवामूलक र कुटनीतिक सम्बन्ध अझ सहज, सरल र प्रभावकारी बन्ने विश्वास लिइएको छ ।

यसका साथै बैठकमा नेपाल र पोर्चुगलबीचको आर्थिक सहकार्यलाई नयाँ दिशा दिने विषयमा पनि विस्तृत विचार–विमर्श हुनेछ । लगानीका नयाँ सम्भावनाहरू खोज्ने, व्यापार विस्तार गर्ने र पर्यटन प्रवर्द्धनका लागि दुवै देशका निजी क्षेत्र र लगानीकर्तालाई आकर्षित गर्ने वातावरण निर्माण गर्न सकारात्मक पहल गरिनेछ । बढ्दो जनसम्पर्क र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित आयोजना गरिएको यो पहिलो बैठक नेपाल र पोर्चुगलको आगामी सम्बन्धका लागि कोशेढुङ्गा सावित हुने आशा गरिएको छ ।

Leave a Reply