लिस्बन (पोर्चुगल) — नयाँ वर्ष २०८३ को स्वागतका लागि पोर्चुगलमा रहेका नेपालीहरूका बीचमा अहिले छुट्टै उत्साह छाएको छ । यसै अवसरलाई थप उत्सवमय बनाउन आगामी अप्रिल १९ तारिखका दिन राजधानी लिस्बनमा एक भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
डाफे इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको यस कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक अर्जुन सापकोटाले आफ्नो विशेष प्रस्तुतिमार्फत दर्शकहरूलाई नचाउनेछन् ।
‘नेपाली नयाँ वर्ष २०८३ लाइभ शो‘ नाम दिइएको उक्त कार्यक्रम लिस्बनस्थित प्रसिद्ध क्लब República da Música मा आयोजना हुँदैछ । सो दिन साँझ ८ बजेबाट सुरु हुने कार्यक्रम राति २ बजेसम्म निरन्तर सञ्चालन हुने आयोजकले जनाएका छन् । अर्जुन सापकोटाको मुख्य आकर्षण रहने यस कार्यक्रममा अन्य लोकप्रिय कलाकारहरू बिरेन्द्र गुरुङ, डिला बि.क. र सरद एल जीको समेत बेजोड प्रस्तुति रहनेछ, जसले प्रवासको व्यस्तताका बीच पनि नेपालीहरूलाई आफ्नै माटो र संस्कृतिको झल्को दिने निश्चित छ ।
प्रवासमा रहेका नेपाली समुदायबीच कला, संस्कृति र सांगीतिक मनोरञ्जनको माध्यमबाट नयाँ वर्षलाई विशेष रूपमा स्वागत गर्ने लक्ष्यका साथ यो कार्यक्रम तय गरिएको हो । आयोजकका अनुसार, यस विशेष सांगीतिक कार्यक्रमले पोर्चुगलमा बसोबास गर्दै आएका नेपाली व्यवसायीहरू, विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तित्वहरू र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गराउनेछ । आपसी सद्भाव, सहकार्य र भाइचारालाई अझ मजबुत बनाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई भव्य र मर्यादित बनाउनका लागि सम्पूर्ण तयारीहरू तीव्र गतिमा अगाडि बढिरहेको डाफे इन्टरटेनमेन्टले जानकारी दिएको छ । आयोजकले पोर्चुगलमा रहेका सबै नेपालीहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन र नयाँ वर्षलाई सामूहिक रूपमा मनाउन हार्दिक अनुरोध गरेका छन् । कार्यक्रममा सहभागी हुनका लागि टिकट दर पनि सार्वजनिक गरिएको छ, जस-अनुसार भीआईपीतर्फ ४५ युरो र सामान्य टिकटका लागि २० युरो तोकिएको छ ।
कला र संस्कृतिको संरक्षण गर्दै विदेशमा रहेका नेपाली मनहरूलाई सांगीतिक सूत्रमा गाँस्न आयोजना हुन लागेको यो कार्यक्रम लिस्बनका लागि यस वर्षको मुख्य आकर्षक इभेन्ट हुने देखिएको छ ।





