Home Login
नेपाली राजदूतावास लिस्बन

लिस्बनमा नेपाली दूतावासको औपचारिक उद्घाटन ; द्विपक्षीय सम्बन्धमा नयाँ इँटा

भरत प्रधान ।
लिस्बन (पोर्चुगल) —
पोर्चुगलको राजधानी लिस्बनमा नेपालको राजदूतावासको औपचारिक रूपमा समुद्घाटन गरिएको छ । बिहीबार आयोजित एक विशेष समारोहका बीच नेपालका परराष्ट्र सचिव अमृत बहादुर राई र पोर्चुगलकी विदेश मामिला तथा सहयोग राज्यसचिव डा. आना इसाबेल जेभियरले संयुक्त रूपमा दूतावासको उद्घाटन गर्नुभयो ।

गत अप्रिल महिनादेखि नै स्थापना भई सेवा प्रवाह सुरु गरिसकेको भए तापनि दूतावासको अहिले औपचारिक रूपमा उद्घाटन गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्र सचिव राईले यो दूतावासको स्थापनाले नेपाल र पोर्चुगलबीचको कुटनीतिक तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ, प्रगाढ र जनस्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै, पोर्चुगिज राज्यसचिव डा. जेभियरले दूतावास स्थापना भएकोमा खुसी व्यक्त गर्दै पोर्चुगल सरकारको तर्फबाट दूतावासलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले दूतावासले दुई देशबीचको सम्बन्धलाई जोड्ने बलियो पुलको रूपमा काम गर्ने बताउनुभयो । समारोहमा पोर्चुगलको विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधि, दूतावासका कर्मचारी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

दूतावास उद्घाटनको अवसरमा नेपाली समुदायसँग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा पोर्चुगलवासी नेपालीहरूले आफूले भोग्नुपरेका विभिन्न जटिलताहरूका बारेमा गुनासो पोखेका छन् । सहभागीहरूले विशेषगरी प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) मा दलालहरूले दिल्लीस्थित पोर्चुगिज दूतावास र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग गरी ठगी गरिरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराएका थिए। यस किसिमको ठगीका कारण सयौँ नेपालीहरूको वैधानिकता (रेसिडेन्सी) प्रक्रिया नै संकटमा परेको भन्दै उनीहरूले तुरुन्त पहल गरिदिन आग्रह गरे ।

यस्तै, नेपालमा पोर्चुगलको दूतावास नहुँदा भिसा प्रक्रियाका लागि दिल्ली धाउनुपर्ने बाध्यता रहेको भन्दै सहभागीहरूले नेपालमै पोर्चुगलको ‘भिसा सेन्टर’ स्थापनाका लागि पहल गर्न सचिव राईसमक्ष माग राखेका थिए । उनीहरूले दूतावासको सेवा शुल्क र कागजी प्रक्रियालाई अझै सरल बनाउनुपर्नेमा समेत जोड दिए ।

सहभागीका जिज्ञासा र गुनासोलाई सम्बोधन गर्दै परराष्ट्र सचिव राईले पोर्चुगलवासी नेपालीका समस्या समाधानका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले शुक्रबार हुने नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा यी विषयहरूलाई प्राथमिकताका साथ उठाइने जानकारी दिनुभयो । साथै, उहाँले पोर्चुगलको लगानी नेपालका पर्यटन, व्यापार र रोजगारीका क्षेत्रमा भित्र्याउन नेपाली समुदायलाई पहल गर्न समेत आग्रह गर्नुभयो । राजदूत पौडेलले पनि नक्कली कागजात र प्रहरी रिपोर्टमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको र क्रमिक रूपमा समस्याहरू हल हुँदै जाने बताउनुभयो ।

सोही अवसरमा दूतावासले गैरआवासीय नेपाली संघ लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस समेत भव्य रूपमा मनाएको छ ।

Leave a Reply