Home Login
राजदूतावास

नेपाल-पोर्चुगल द्विपक्षीय बैठक सम्पन्न ; लगानी र कन्सुलर समस्या समाधानमा जोड

लिस्बन (पोर्चुगल) — नेपाल र पोर्चुगलबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र (BCM) को ऐतिहासिक बैठक पोर्चुगलको राजधानी लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ ।

यस महत्त्वपूर्ण बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुभएको थियो भने पोर्चुगलको तर्फबाट विदेश मामिला तथा सहयोग राज्यसचिव डा. आना इसाबेल जेभियरले नेतृत्व गर्नुभएको थियो । नेपाली टोलीमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेललगायत मन्त्रालय र दूतावासका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

छलफलका क्रममा दुवै देशका प्रतिनिधिबीच राजनीतिक, आर्थिक र कन्सुलर मामिलालगायत समग्र द्विपक्षीय सम्बन्धको विस्तृत समीक्षा गरिएको छ । यसै क्रममा परराष्ट्र सचिव राईले पोर्चुगलमा रहेका नेपाली समुदायले भोग्नुपरेका कन्सुलर तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्याहरू तत्काल सम्बोधन गर्न र प्रक्रियालाई सहजीकरण गरिदिन पोर्चुगिज पक्षलाई विशेष अनुरोध गर्नुभयो । नेपालको यस गम्भीर चासोलाई पोर्चुगिज प्रतिनिधिमण्डलले सकारात्मक रूपमा लिँदै समस्या समाधानमा ध्यानाकर्षण भएको जनाएको छ ।

यस अवसरमा सचिव राईले नेपाली समुदायलाई अपनत्व प्रदान गरेकोमा पोर्चुगल सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । जवाफमा राज्यसचिव डा. जेभियरले पोर्चुगलको समग्र अर्थतन्त्र र समाजमा नेपाली समुदायले पुर्‍याएको निरन्तर र महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गर्नुभयो । दुवै पक्षबीच व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा, तथा विज्ञान र प्रविधिका क्षेत्रमा आपसी सहकार्यलाई अझ फराकिलो बनाउने सहमतिसमेत भएको छ ।

साथै, जलवायु परिवर्तनका असर न्यूनीकरण र बहुपक्षीय प्रणालीमा सहयोगलगायत साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि गहिरो विचार-विमर्श भएको थियो ।

औपचारिक बैठकपछि पोर्चुगिज प्रतिनिधिमण्डलका प्रमुखले भ्रमणमा रहेको नेपाली टोलीको सम्मानमा दिवाभोजको आयोजना गर्नुभएको थियो । सोही दिन दिउँसो सचिव राईले पोर्चुगिज व्यापार तथा लगानी एजेन्सी (AICEP) मा नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालाहरूसँग विशेष अन्तरक्रिया गर्नुभएको छ ।

पोर्चुगलको ऊर्जा नीतिका बारेमा जानकारी लिएपछि उहाँले नेपालको जलविद्युत उत्पादन, प्रसारण र वितरणलगायत स्वच्छ ऊर्जाको क्षेत्रमा लगानीका प्रशस्त अवसरहरू रहेको बताउनुभयो । ती अवसरहरूको खोजी गर्न नेपालको लगानी बोर्डसँग कार्यस्तरीय छलफल अगाडि बढाउन उहाँले AICEP लाई महत्त्वपूर्ण सुझाव दिनुभयो ।

यसअघि शुक्रबार बिहान सचिव राईले पोर्चुगलका विदेश मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डे सौसा रिबेरो टेलेससँग शिष्टाचार भेटवार्ता गरी दुई देशबीचको कूटनीतिक र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो । आफ्नो पोर्चुगलको औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी परराष्ट्र सचिव राई भोलि काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply