Home Login
साईप्रस

‘शेर्पा किदुक साइप्रस’द्वारा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा

साइप्रस — हिमाली बौद्ध धर्मावलम्बीहरूको महान् सांस्कृतिक पर्व ‘ग्याल्पो ल्होसार’ २१५३—मेफो ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा साइप्रसमा बसोबास गर्ने नेपाली समुदायबीच हर्षोल्लास छाएको छ । यसै शुभ अवसरलाई उत्सवमय बनाउन र आपसी सद्भाव साटासाट गर्न शेर्पा किदुक साइप्रसले एक भव्य ‘ग्याल्पो ल्होसार शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ ।

परदेशको व्यस्त दैनिकीका बीच पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रमको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आगामी मार्च ८, २०२६ आइतबारका दिन लिमासोलस्थित नियो फिएस्टा हल, कातोपोलो मिडियामा आयोजना हुने यस कार्यक्रमले साइप्रसको नेपाली समाजलाई एउटै सूत्रमा बाँध्ने विश्वास गरिएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने उक्त कार्यक्रममा शेर्पा संस्कृतिको झलक झल्किने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, परम्परागत नृत्य तथा गायनहरू आकर्षणको केन्द्र रहनेछन् ।

आयोजक शेर्पा किदुक साइप्रसले यस विशेष दिनलाई भव्य र सफल बनाउनका लागि साइप्रसमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधिहरू, बुद्धिजिवीहरू, समाजसेवीहरू तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ । आफ्नो थातथलोबाट टाढा रहे पनि आफ्नो मौलिक नयाँ वर्षलाई सामूहिक रूपमा मनाउन र सांस्कृतिक गौरवलाई प्रदर्शन गर्न यो कार्यक्रम एक महत्त्वपूर्ण माध्यम बन्ने देखिन्छ ।

कार्यक्रममा सहभागी हुन चाहने महानुभावहरूका लागि प्रति व्यक्ति २० यूरो टिकट दर निर्धारण गरिएको छ । आयोजकले कार्यक्रममा उपस्थित भई नेपाली मौलिक पर्वको रौनक बढाउन र कार्यक्रमलाई सभ्य एवं भव्य रूपमा सम्पन्न गर्नका लागि सम्पूर्ण साइप्रसवासी नेपालीहरूमा हार्दिक अपिल गरेको छ । नयाँ वर्ष २१५३ को यो अवसरले सबैमा सुख, शान्ति र समृद्धिको सञ्चार गरोस् भन्ने कामना समेत किदुक परिवारले व्यक्त गरेको छ ।

Leave a Reply