Home Login
नेपाली राजदूतावास लिस्बन

नेपालीको समस्या समाधान गर्न एआईएमए प्रमुखसँग राजदूतको पहल

लिस्बन पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले पोर्चुगलको आप्रवासन मामिला हेर्ने निकाय ‘एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलम’ (एआईएमए) का उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको छ । सोमबार (०९ फेब्रुअरी २०२६) लिस्बनस्थित एआईएमएकाे मुख्यालयमा पुगेर राजदूत पौडेलले एआईएमएका प्रेसिडेन्ट पेड्रो पोर्चुगल गेस्पासँग शिष्टाचार भेट गर्नुभएको हो ।

निकै सौहार्दपूर्ण वातावरणमा भएको उक्त भेटवार्ता विशेषगरी पोर्चुगलमा रहेका नेपाली समुदायले भोग्नुपरेका विविध समस्या र प्रशासनिक जटिलतामा केन्द्रित थियो । सो अवसरमा राजदूत पौडेलले नेपाली आप्रवासीहरूले कागजात प्रमाणीकरण लगायतका प्रक्रियामा लामो समय कुर्नुपरेको र यसले सिर्जना गरेका अप्ठ्याराबारे प्रेसिडेन्ट गेस्पाको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

भेटका क्रममा एआईएमएका तर्फबाट नेपाली समुदायका समस्यालाई नजिकबाट बुझेर समाधानका उपायहरू खोज्ने विषयमा सकारात्मक छलफल भएको थियो । प्रशासनिक प्रक्रियालाई सहज र छिटो छरितो बनाउने विषयमा दुवै पक्षबीच गहन विचारविमर्श भएको बताइएको छ । यस छलफलमा नेपाली राजदूतावासका नियोग उपप्रमुख शत्रुध्वन पोखरेलको पनि उपस्थिति रहेको थियो ।

पोर्चुगलमा नेपालीहरूको संख्या बढ्दै गइरहेको सन्दर्भमा दूतावासले गरेको यो उच्चस्तरीय कूटनीतिक पहलले यहाँ बसोबास गर्ने नेपालीहरूका लागि कागजी प्रक्रियामा देखिएका गाँठा फुकाउन र सेवा प्रवाहलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply