जसमान दर्नाल ।
जाग्रेब (क्रोएसिया) — क्रोएसियाको राजधानी जाग्रेबमा आयोजित “प्रथम तनहुँ कप” खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाले जितेको छ । तनहुँ समाज क्रोएसियाद्वारा आयोजित उक्त प्रतिस्पर्धामा म्याग्देलीहरूको साझा संस्था मोनाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम उपाधि आफ्नो पोल्टामा पारेको हो ।
आइतबार जाग्रेबस्थित एक स्थानीय रङ्गशालामा सम्पन्न फाइनल खेलमा मोना क्रोएसियाले तमु समाज क्रोएसियालाई निकै रोमाञ्चक सेटमा पराजित गर्यो । प्रतियोगिता अवधिभर उत्कृष्ट तालमेल, उच्च अनुशासन र रणनीतिक खेल प्रदर्शन गरेको मोनाले सबै सेटहरू आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गरेको थियो ।
यसअघि भएको कडा प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा मोना क्रोएसियाले माल्टाबाट आएको मगर समाज माल्टाको टोलीलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा क्रोएसियाभित्रका विभिन्न क्लबहरूसँगै छिमेकी देशहरूबाट समेत गरी कुल १५ वटा टोलीहरूको सहभागिता रहेको थियो, जसले गर्दा खेल निकै प्रतिस्पर्धात्मक र रोचक बनेको थियो ।
विजेता टोलीको नेतृत्व कप्तान पुष्कर थापा मगरले गरेका थिए भने टोलीमा कासीराम खाती, सुजन बैद, बिनोद सर्वन, नवीन थापा मगर, किसान परियार, बिमल सुनुवार, रमेश परियार र पदम कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
खेलमा सामूहिक जितसँगै मोना क्रोएसियाले व्यक्तिगत विधामा समेत वर्चस्व कायम गर्यो । टोलीका सुजन बैद ‘उत्कृष्ट खेलाडी’ (बेस्ट प्लेयर), नवीन थापा मगर ‘उत्कृष्ट स्पाइकर’ र रमेश परियार ‘उत्कृष्ट लिब्रो’ घोषित भए । यी व्यक्तिगत पुरस्कारहरूले मोनाका खेलाडीहरूको कडा मेहनत र व्यक्तिगत क्षमतालाई प्रमाणित गरेको छ ।
प्रतियोगिताको समापन र जितको खुसीयालीमा मोना क्रोएसियाका अध्यक्ष च. बहादुर जुग्जालीले विजेता टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले संस्थाका हरेक गतिविधिमा खेलाडीहरूको योगदान अतुलनीय रहेको चर्चा गर्दै आगामी दिनमा पनि यस्तै सफलताको अपेक्षा राखेको बताउनुभयो। साथै, खेल अवधिभर मोनाका अन्य पदाधिकारीहरूले रङ्गशालामै उपस्थित भएर खेलाडीहरूको मनोबल बढाउन हुटिङ र उत्साह थपेका थिए ।
यस ऐतिहासिक जितले प्रवासमा रहेका नेपालीहरूबीच सामुदायिक एकता, खेलकुदप्रतिको लगाव र सहकार्यलाई थप मजबुत बनाएको मोना क्रोएसियाका संरक्षक राम कृष्ण शर्माले बताउनुभयो । जाग्रेबमा पहिलोपटक आयोजना गरिएको “तनहुँ कप” ले क्रोएसियामा रहेका नेपाली समुदायलाई खेलकुदका माध्यमबाट एकताबद्ध गराउन सफल देखिएको छ ।





