पोर्चुगल — युरोप भ्रमणको सिलसिलामा रहेका गायक सुजन चापागाईंले यसअघि नै फिनल्याण्डको हेलसिंकी (फेब्रुअरी १४), बेल्जियमको एन्टवर्प (फेब्रुअरी १६) र फ्रान्सको पेरिस (फेब्रुअरी १८) मा आफ्ना बेजोड प्रस्तुतिहरू सफलताका साथ सम्पन्न गरिसकेका छन् । यी शहरहरूमा देखिएको नेपालीहरूको उत्साहजनक उपस्थिति र मायाले सांगीतिक टोलीलाई थप उर्जा प्रदान गरेको छ । अबको केही दिनमा जर्मनीको बर्लिन र डेनमार्कको कोपेनहेगनलाई सांगीतिक माहोलमा झुलाउँदै यो टोली मार्च २ मा पोर्चुगल आइपुग्ने तालिका रहेको छ ।
लिस्बनस्थित चर्चित सांगीतिक स्थल ‘लिस्बोआ आओ भिभो’मा आयोजना हुने यस कार्यक्रमलाई भव्य बनाउन आयोजकहरूले कुनै कसर बाँकी राखेका छैनन् । गुरुङ केएनएस ईन्टरटेन्मेन्ट, केन्द्र मोशन पिक्चर्स र नेल्स इन्टरटेन्मेन्टको त्रिपक्षीय सहकार्यमा हुन लागेको यस कार्यक्रमले पोर्चुगलमा रहेका नेपालीहरूका लागि एक ऐतिहासिक साँझ प्रदान गर्ने लक्ष्य राखेको छ । मार्च २ को राति १० बजेदेखि सुरु हुने यस उत्सवमा सुजन चापागाईंका चर्चित गीतहरू जस्तै ‘तिनपाते’, ‘बाफ’, ‘गालापुक्क’ लगायतका दर्जनौँ सिर्जनाहरू प्रत्यक्ष सुन्न पाइनेछ ।
कार्यक्रमलाई व्यवस्थित र सबैको पहुँचयोग्य बनाउन आयोजकले विभिन्न चार श्रेणीमा टिकट दरहरू निर्धारण गरेका छन् । जसअनुसार विशिष्ट अनुभव लिन चाहनेहरूका लागि अति विशिष्ट (भीभीआईपी) श्रेणीको टिकट १५० युरो र विशिष्ट (भीआईपी) श्रेणीका लागि ७५ युरो तोकिएको छ । त्यसैगरी, मञ्चको नजिकबाट कार्यक्रमको आनन्द लिन चाहनेका लागि अग्रिम भाग (फ्रन्ट जोन) को ४० युरो र पछिल्लो भाग (ब्याक जोन) का लागि ३० युरो शुल्क कायम गरिएको छ ।
यस बृहत् युरोप टुरको मुख्य व्यवस्थापन गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र मामा इभेन्ट्सले सम्हालेका छन् भने केन्द्र मोशन पिक्चर्सले मुख्य सहयोगीको भूमिका निभाएको छ ।
लिस्बनको सांगीतिक प्रस्तुति पछि गायक चापागाईं मार्च ७ मा माल्टा पुगेर आफ्नो यो सांगीतिक यात्राको समापन गर्नेछन् । सात समुद्र पार रहेर पनि आफ्नो माटो र संगीतलाई माया गर्ने नेपालीहरूका लागि यो कार्यक्रम केवल एउटा कन्सर्ट मात्र नभई नेपालीपन साटासाट गर्ने एउटा महत्त्वपूर्ण थलो बन्ने विश्वास लिइएको छ ।





