स्पेन — नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, सिद्धान्त र स्पष्ट एजेन्डा नभएको लोकप्रियतावादले आम नेपाली जनतालाई भ्रमित तुल्याउन खोजिरहेको बताउनुभएको छ । प्रवासी जनप्रगतिशील मञ्च युरोपले शुक्रबार सामाजिक सञ्जाल टिकटक मार्फत आयोजना गरेको ‘उम्मेदवारसँग चुनावी विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
संयोजक दाहालले पछिल्लो समय सामाजिक सञ्जाल र आधुनिक प्रविधिको दुरुपयोग गर्दै सस्तो लोकप्रियताका नाममा राजनीतिक मूल्य-मान्यता र एजेन्डाको महत्त्वलाई अवमूल्यन गर्ने काम भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले विचारविहीन हावाहुरी चलाएर जनतालाई दिगभ्रमित पार्ने दुस्प्रयास भइरहेको भन्दै यस्ता प्रवृत्तिबाट सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
विशेषगरी विदेशमा रहेका प्रवासी नेपालीहरूलाई अनुचित रूपमा प्रयोग गरेर देशको राजनीतिलाई गलत दिशामा मोड्न खोजिएको दाहालको आरोप थियो । उत्पीडित वर्ग र समुदायको हक-अधिकारका लागि लामो संघर्ष गरेर आएको र युगान्तकारी परिवर्तनको नेतृत्व गरेको शक्तिलाई कमजोर पार्न तथाकथित लोकप्रियतावादको सहारा लिइएको उहाँले बताउनुभयो । यस्ता प्रवृत्तिलाई रोक्न र परिवर्तनका उपलब्धिहरू जोगाउन प्रवासी नेपालीहरूले सचेत र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भ जोड्दै पूर्वप्रधानमन्त्री दाहालले लोकतान्त्रिक प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “जनतालाई अधिकार सम्पन्न बनाउने र समृद्धिको यात्रा सुरु गर्ने शक्तिलाई सुदृढ बनाएर मात्रै नेपालको राष्ट्रिय स्वाधीनता र आत्मनिर्णयको अधिकार रक्षा गर्न सकिन्छ ।” उहाँले राष्ट्रहित र स्वाधीनताको मुद्दामा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता समेत औंल्याउनुभयो ।
मञ्चले फागुन २१ को निर्वाचनलाई लक्षित गरी डिजिटल माध्यमबाट राजनीतिक दलका शीर्ष नेता र उम्मेदवारहरूसँग निरन्तर अन्तरक्रिया गर्दै आएको छ । कार्यक्रमका प्रस्तोता एवं नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव अशिम लोप्चन तामाङका अनुसार गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनपछि समसामयिक राजनीतिक विषयमा बहस र विमर्शलाई तीव्रता दिइएको हो ।
यसअघि उक्त डिजिटल मञ्चमा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वअर्थमन्त्री वर्षमान पुन, विभिन्न क्षेत्रका उम्मेदवारहरू डिल्लीराम घिमिरे, झकबहादुर मल्ल, रमेशकुमार मल्ल, हरिजंग तामाङ, महेन्द्रबहादुर शाही, विनोद कटुवाल, रेनु दाहाल, हीरानाथ खतिवडा र रञ्जित तामाङलगायतले आ-आफ्नो धारणा राखिसक्नुभएको मञ्चले जनाएको छ ।





