साइप्रस — हिमाली बौद्ध धर्मावलम्बीहरूको महान् सांस्कृतिक पर्व २१५३ औं ‘मेफो ता ल्हो’ (घोडा वर्ष) अर्थात् ग्याल्पो ल्होसारको पावन अवसरमा साइप्रसमा बसोबास गर्ने नेपाली समुदायबीच उत्साह छाएको छ । यस विशेष पर्वलाई भव्यताका साथ मनाउन शेर्पा किदुक साइप्रसले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा यस पटकको मुख्य आकर्षणका रूपमा चर्चित गायक लाक्पा शेर्पा अमोद रहने भएका छन् ।
प्रवासको व्यस्त दैनिकी र चटारोका बीच पनि आफ्नो मौलिक पहिचान र कला-संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा गायक अमोदको विशेष सांगीतिक प्रस्तुतिले साइप्रसको नेपाली समाजलाई मनोरञ्जनको उच्च स्वाद दिलाउने अपेक्षा गरिएको छ ।
मार्च ८, २०२६ आइतबारका दिन लिमासोलस्थित नियो फिएस्टा हल, कातोपोलो मिडियामा आयोजना हुने यस भव्य समारोहको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने उक्त कार्यक्रममा गायक लाक्पा शेर्पा अमोदका चर्चित गीतहरूसँगै साइप्रसमा रहेका विभिन्न स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिले ग्याल्पो ल्होसारको रौनकलाई अझ बढाउनेछ । शेर्पा संस्कृतिको झल्को दिने परम्परागत नृत्य, गायन र मौलिक वेषभूषाको प्रदर्शन कार्यक्रमका थप आकर्षण रहनेछन् ।
शेर्पा किदुक साइप्रसले यो अवसरलाई केवल एक पर्वको रूपमा मात्र नभई नेपालीहरूबीच आपसी सद्भाव र एकता साटासाट गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा लिएको छ । आफ्नो थातथलो र जन्मभूमिबाट टाढा रहे तापनि आफ्नो पुर्ख्यौली गौरवलाई जीवित राख्न यो कार्यक्रमले सेतुको काम गर्ने आयोजकको विश्वास छ ।
कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउनका लागि किदुकले साइप्रसमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिको लागि हार्दिक अपिल समेत गरेको छ ।
सहभागी हुन चाहने महानुभावहरूका लागि प्रति व्यक्ति २० यूरो प्रवेश शुल्क निर्धारण गरिएको यस कार्यक्रमले नयाँ वर्ष २१५३ को सुखद सुरुवातसँगै सबैमा शान्ति र समृद्धिको सञ्चार गर्ने आयोजक परिवारले कामना गरेको छ । ल्होसारको उमंग र गायक लाक्पा शेर्पा अमोदको सांगीतिक जादुको समिश्रणले गर्दा यो कार्यक्रम साइप्रसवासी नेपालीहरूका लागि एक अविस्मरणीय उत्सव बन्ने निश्चित देखिन्छ ।





