Home Login
मनोरंजन

इनास पोर्चुगलद्वारा कलाकार छनोटका लागि अडिसन आह्वान

पोर्चुगल — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलले बेल्जियममा आयोजना हुने ११औँ युरोप महादेशस्तरीय एकल नृत्य तथा गायन प्रतियोगिताका लागि कलाकार छनोट प्रक्रिया सुरु गरेको छ ।

आगामी अप्रिल २४ र २५ तारिखमा बेल्जियममा हुने यस भव्य प्रतियोगितामा पोर्चुगलको तर्फबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट एक–एक जना गायक र नर्तक छनोट गर्न संस्थाले अनलाइन अडिसन आह्वान गरेको हो ।

इनास पोर्चुगलका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकारहरूले लोक वा आधुनिक विधामा आफ्नो प्रस्तुति रेकर्ड गरी ह्वाट्सएप मार्फत पठाउनुपर्नेछ । अडिसनमा सहभागी हुँदा कलाकारले गीतको विधा सुहाउँदो पोसाक लगाउनुपर्ने र प्रस्तुति दिने गीत आफैँले छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।

अनलाइन अडिसनबाट उत्कृष्ट ठहरिएका एक जना गायक र एक जना नर्तकलाई पोर्चुगलको आधिकारिक प्रतिस्पर्धीका रूपमा बेल्जियम पठाइनेछ ।

यस प्रतियोगितामा विजयी हुने कलाकारहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ८ सय , ५ सय र ३ सय युरो नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने चौथो हुनेलाई इनासको तर्फबाट विशेष पुरस्कार प्रदान गरिनेछ । साथै, प्रथम स्थान हासिल गर्ने कलाकारलाई एक वर्षका लागि ‘इनास युरोप अवैतनिक सांस्कृतिक दूत’ घोषणा गरिनेछ र आवश्यकता अनुसार चलचित्र वा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्रदान गरिने संस्थाले जनाएको छ ।

छनोट भएर बेल्जियम जाने कलाकारहरूको त्यहाँ रहँदाको खान र बस्नको खर्च आयोजकले व्यहोर्ने भए तापनि जाने–आउने टिकट खर्च भने स्वयं सहभागीले नै बेहोर्नुपर्नेछ । अडिसनमा भाग लिन चाहने नृत्य तर्फका कलाकारले सुनिल गिरी (+३५१-९२०८०६७०४) वा सगुन श्रेष्ठ (+३५१-९२०५५७४५९) र गायन तर्फका कलाकारले सन्तोष अधिकारी (+३५१-९२८२८१६९७) लाई सम्पर्क गरी आफ्नो भिडियो पठाउन सक्नेछन् ।

Leave a Reply