Home Login
प्रवास

क्रोएशियामा कार्यरत झापाका भुवन खड्का सम्पर्कविहीन

भियना (अस्ट्रिया) — रोजगारीको सिलसिलामा युरोपेली मुलुक क्रोएशियामा कार्यरत एक नेपाली युवा विगत केही दिनदेखि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि भियनास्थित नेपाली राजदूतावासले सबैसँग अनुरोध गरेको छ । झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ स्थायी घर भएका भुवन खड्का परिवारको सम्पर्कमा नआएपछि दूतावासले सार्वजनिक सूचना जारी गरेको हो ।

दूतावासका अनुसार खड्का क्रोएशियामा काम गर्दै आएका थिए । तर, विगत केही दिनयता उनी एक्कासी परिवारका सदस्यहरूसँग सम्पर्कबाट टाढा भएका छन् । परदेशमा रहेका आफ्ना सदस्यसँग नियमित कुराकानी नभएपछि र सम्पर्क टुटेपछि नेपालमा रहेको उनको परिवार चिन्तित बनेको छ। परिवारका सदस्यहरूले नै दूतावासलाई सम्पर्क गरी भुवनको खोजतलास गरिदिन आग्रह गरेका हुन् ।

परिवारको अनुरोधपछि अस्ट्रियाको भियनामा रहेको नेपाली राजदूतावास (जसले क्रोएशियालाई समेत हेर्दछ) ले सक्रियता देखाएको छ । दूतावासले क्रोएशियामा रहेका नेपाली समुदाय र अन्य सम्बन्धित व्यक्तिहरूलाई भुवन खड्कालाई कतै देखेमा वा उनीसँग सम्पर्क भएमा तत्काल जानकारी गराउन अपिल गरेको छ । साथै, दूतावासले खड्काको अवस्था पत्ता लगाउन र खोजतलास गर्नका लागि कूटनीतिक माध्यमबाट समेत सम्बन्धित निकायमा अनुरोध गरिसकेको जानकारी दिएको छ ।

यदि कसैले भुवन खड्कालाई देख्नुभएमा वा उहाँको बारेमा कुनै जानकारी प्राप्त भएमा भियनास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिनेछ । यसबाहेक, नेपालमा रहेका उनका भाइ दिपेश खड्कालाई ९७७–९७०५३१७३७० मा सिधै फोन गरेर जानकारी गराइदिन हुन पनि दूतावासले विशेष अनुरोध गरेको छ ।

दूतावासले यो सूचनालाई एक अर्कामा शेयर गरेर हराइरहेका नेपाली दाजुभाइको खोजी कार्यमा सहयोग गरिदिन क्रोएशिया तथा युरोपमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आग्रह गरेको छ ।

Leave a Reply