Home Login
चलचित्र

युरोपेली मुलुक माल्टामा नेपाली चलचित्र ‘मिरमिरे’ प्रदर्शन हुने

भ्यालेटा (माल्टा) — नेपालमा माघ १ गते (मकर संक्रान्ति) को अवसर पारेर देशभरका हलहरूमा प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘मिरमिरे’ अब युरोपेली मुलुक माल्टामा पनि प्रदर्शन हुने भएको छ ।

माल्टामा रहेका नेपाली दर्शकहरू माझ नेपाली सिनेमाको पहुँच पुर्‍याउने उद्देश्यका साथ मगवर्ट प्रोडक्सनले यस चलचित्रलाई त्यहाँ प्रदर्शन गर्न लागेको हो । माल्टाको प्रसिद्ध ‘इडेन सिनेमास’ मा प्रदर्शन हुन लागेको यस चलचित्रले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै भाषा र परिवेशको कथासँग जोड्ने विश्वास गरिएको छ ।

आयोजकका अनुसार चलचित्र ‘मिरमिरे’ माल्टामा आगामी जनवरी २४ र जनवरी ३१ तारिखका दिन गरी दुई शोहरूमा प्रदर्शन गरिनेछ । नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अभियानमा सक्रिय मगवर्ट प्रोडक्सनले यी दुवै प्रदर्शनहरू राति १०:४५ बजेदेखि सुरु हुने जानकारी दिएको छ ।

कार्यव्यस्तताका बाबजुद पनि माल्टामा रहेका नेपालीहरूले आफ्नै संस्कृति झल्काउने चलचित्र हेर्न पाउने गरी समय व्यवस्थापन गरिएको आयोजकको भनाइ छ ।

‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ स्थापना भएको मगवर्ट प्रोडक्सनले माल्टामा लामो समयदेखि विभिन्न नेपाली चलचित्रहरूको प्रदर्शन तथा भव्य सांगीतिक कार्यक्रमहरू गर्दै आएको छ । विदेशमा रहेर पनि नेपाली मौलिकताको जगेर्ना गर्ने र नेपाली फिल्म उद्योगलाई व्यावसायिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले ‘मिरमिरे’ को विशेष प्रदर्शन आयोजना गरिएको हो ।

चलचित्र प्रदर्शनको घोषणासँगै माल्टामा रहेका नेपाली समुदायमा विशेष चासो र उत्साह देखिएको छ । नेपाली परिवेशको अर्गानिक कथावस्तुमा निर्माण भएको भनिएको ‘मिरमिरे’ ले दर्शकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ । इडेन सिनेमास जस्तो प्रतिष्ठित हलमा नेपाली चलचित्र प्रदर्शन हुनुले नेपाली सिनेमाको बजार र गरिमा प्रवासमा पनि बढ्दै गएको पुष्टि गर्दछ ।

Leave a Reply