Home Login
पर्यटक

जनवरीमै भित्रिए ९२ हजार पर्यटक, भारतीयको हिस्सा सबैभन्दा धेरै

पोर्चुगल – सन् २०२६ को पहिलो महिना नेपालको पर्यटन क्षेत्रका लागि सुखद देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०२५ को सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो ।

यो वृद्धि कोभिड–१९ महामारीपूर्वको सन् २०१९ को तुलनामा समेत १४ प्रतिशतले धेरै रहेको बोर्डले जनाएको छ । पर्यटक आगमनको तथ्याङ्क हेर्दा छिमेकी मुलुक भारत शीर्ष स्थानमा कायम छ । कुल आगमनको २८.८ प्रतिशत अर्थात् २६ हजार ६२४ भारतीय पर्यटकले यो महिना नेपाल भ्रमण गरेका छन् ।

भारतपछि चीनबाट ९ हजार १०१, अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ र अस्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक नेपाल आएका छन् । क्षेत्रगत आधारमा दक्षिण एसियाली (सार्क) मुलुकको हिस्सा ३९.३ प्रतिशत छ भने अन्य एसियाली देशबाट २६.१ प्रतिशत पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो तथ्याङ्कले अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको विश्वास बलियो हुँदै गएको सङ्केत गरेको बताएका छन् । गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्कमा भएको विस्तार र साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको बढ्दो आकर्षणले आगमन वृद्धिमा टेवा पुगेको उनको भनाइ छ ।

Leave a Reply