म बुहारी हुँ तर मेरो नाम हरायो मेरो पहिचान हरायो मेरो अस्तित्व मेटियो ; म हाँस्छु तर भित्र रोइरहेकी छु म चुप लाग्छु किनकि बोले अपराध ठानिन्छ ।
म सहन्छु किनकि सहनु मेरो भाग्य बनाइयो सासुको गालीले पोल्छ नन्दको हेपाइले चिथोर्छ । श्रीमान् मौन बस्दा मेरो मन भाँचिन्छ मेरो पीडा देख्ने कोही छैन मेरो आँसु कसैले पोछ्दैन ।
म घरको मान्छे हुँ तर कहिल्यै आफ्नै बनिनँ म कर्तव्य मात्र भएँ भावना कहिल्यै बनिनँ ।
म खाना बनाउँछु म हाँस्छु म सफा गर्छु म सेवा गर्छु तर कसैले मेरो मेहनत मूल्याङ्कन गर्दैन । म माफी माग्छु म सहन्छु म बुझाउँछु तर मेरो पीडा केवल मनमा बाँच्दछ ।
म पनि मान्छे हुँ मेरो पनि मन छ मेरो पनि भावनाहरु छन् मेरो मन दुख्छ धेरै दुख्छ । म बुहारी हुँ तर ढुंगा होइन म मौन छु तर कमजोर होइन मेरो चुप्पी मेरो हार होइन । यो सहनशीलता मेरो बाध्यता हो म दबाइएर बस्ने खेलको भाग होइन ।
म पनि मायाको हकदार हुँ म पनि सम्मानको हकदार हुँ
तर मलाई नदेख्ने नजरहरू छन् नबोल्ने कानहरू छन् र मौन रहनेहरु छन् । म बुहारी हुँ मेरो जीवन अरूको खुशीका लागि बनाइएको बलि होइन ।
मलाई पनि सुन, मलाई पनि बुझ, मलाई पनि महसुस गर । आज म प्रश्न गर्छु म बुहारी भएर के अपराध गरेँ कि मेरो दुख्ने अधिकार खोसिएको हो ।
मेरो आँसु, मेरो चिच्याहट अब केवल शब्द बन्यो मेरो पीडा अब केवल आवाज बन्यो । म बुहारी हुँ मेरो मन दुख्छ र अब म चुप बस्दिनँ मेरो आँसु मेरो आवाज बन्यो मेरो पीडा अब शक्ति बन्यो ।
सुन! मेरो पीडा केवल मेरो होइन यो समाजको पनि चोट हो यो पुँजीवाद र परम्परागत संरचनाको प्रश्न हो ।
म बुहारी हुँ तर मेरो अधिकार, मेरो सम्मान, मेरो मानवता हराइरहनु हुँदैन । मेरो मन दुख्छ तर अब मेरो चुप्पी डर होइन मेरो आवाज हो मेरो अस्तित्व हो । म बुहारी हुँ र मेरो मन दुख्छ र धेरै दुख्छ र अब म चुप बस्दिनँ । केही लेख्न मन लागेर लेखेको हो कसैको जिवन सग मेल खान गए क्षमापार्थि छु ।
मिना कटुवाल (धरान)





