नेदरल्याण्ड्स — सन् २०२५ नेदरल्याण्ड्समा शरणको खोजीमा रहेका आप्रवासीहरूका लागि निकै चुनौतीपूर्ण वर्ष साबित भएको छ । डच राष्ट्रिय तथ्याङ्क एजेन्सी (CBS) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले त्यहाँको शरणार्थी नीतिमा आएको ठूलो फेरबदललाई उजागर गरेको छ । इतिहासमै विरलै देखिने गरी, यस वर्ष नेदरल्याण्ड्सले शरणार्थीका आवेदनहरू स्वीकार गर्नुभन्दा धेरै अस्वीकार गरेको पाइएको छ ।
तथ्याङ्क अनुसार सन् २०२५ मा डच अध्यागमन र प्राकृतिकीकरण सेवा (IND) ले करिब ८ हजार १ सय शरणार्थी आवेदनहरू अस्वीकार गरेको छ, जबकि स्वीकृत हुनेको संख्या मात्र ७ हजार ४ सय रहेको छ । यो तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा अस्वीकृति दरमा ५६ प्रतिशतको भारी वृद्धि देखाएको छ । विशेषगरी वर्षको दोस्रो भागमा अस्वीकृत हुने आवेदनहरूको संख्या ह्वात्तै बढेको थियो ।
यसरी अस्वीकृति दर बढ्नुको पछाडि सबैभन्दा प्रमुख कारण सिरियाली आवेदकहरूको स्थिति र नीतिमा आएको परिवर्तनलाई मानिएको छ, जसले गर्दा धेरै सिरियालीहरूले सुरक्षाको ओहोदा पाउन सकेनन् ।
एकातिर अस्वीकृत हुनेको संख्या बढिरहेको छ भने अर्कोतिर शरणार्थी अनुरोधहरूको सुनुवाइ प्रक्रिया सुस्त भएको छ । नेदरल्याण्ड्सले आवेदन प्रक्रियालाई छिटो बनाउने प्रयास गरिरहेको दाबी गरे पनि नतिजा भने निराशाजनक देखिएको छ । अधिकारीहरूले २०२४ को तुलनामा २०२५ मा २७ प्रतिशत कम आवेदनहरू मात्र पूर्ण रूपमा मूल्याङ्कन गर्न सके । जनशक्ति वा व्यवस्थापकीय कमजोरीका कारण IND ले अघिल्लो वर्षभन्दा करिब ५ हजार ६ सय कम फाइलहरू मात्र हेर्न भ्यायो ।
यसको प्रत्यक्ष असर नतिजा कुरिरहेकाहरूमा परेको छ; सन् २०२५ को अन्त्यसम्ममा ५० हजार भन्दा बढी मानिसहरू अझै पनि आफ्नो शरण आवेदनको निर्णयको पर्खाइमा बसिरहेका छन् ।
नेदरल्याण्ड्समा शरण माग्ने मानिसहरूको कुल संख्यामा भने उल्लेख्य गिरावट आएको छ । कडा बन्दै गएको नीति वा अन्य कारणले गर्दा गत वर्ष करिब २४ हजार मानिसले मात्र पहिलो पटक शरणका लागि आवेदन दिएका थिए । यो संख्या सन् २०२४ को तुलनामा झण्डै एक चौथाइले कम हो । शरण माग्नेहरूको संख्या घट्दा पनि अस्वीकृत हुने दर बढ्नु र पुराना फाइलहरूको चाङ लाग्नुले नेदरल्याण्ड्सको आप्रवासन प्रणालीमा देखिएको जटिलतालाई प्रस्ट पार्छ ।





