लिस्बन (पोर्चुगल) — म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको मुख्य आयोजनामा ‘जिल्ला स्तरीय म्याग्दी भलिबल कप २०२६’ अत्यन्त भव्यता र उत्साहका साथ सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो माटो र खेलकुदप्रतिको प्रेमलाई जीवन्त राख्दै, पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव र एकतालाई अझ प्रगाढ बनाउने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा विभिन्न जिल्लाका टिमहरूको बाक्लो र उत्साहजनक सहभागिताले नेपाली समुदायमा नयाँ उर्जा सञ्चार गरेको थियो ।
निकै रोमाञ्चक र उच्च प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा पर्वत जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि माथि कब्जा जमाउन सफल भयो । खेल कौशल र अनुशासनको उच्च नमूना प्रस्तुत गरेको पर्वतले प्रथम स्थान हासिल गर्दै २००५ युरो नगद पुरस्कार हात पारेको छ । त्यस्तै, फाइनलमा पर्वतलाई कडा टक्कर दिएको स्याङ्जा जिल्लाले उपविजेता बन्दै दोस्रो स्थानमा चित्त बुझाएको छ । उपविजेता बनेको स्याङ्जाको टिमले ११०५ युरो नगद पुरस्कार प्राप्त गर्यो ।
टिमको जितसँगै प्रतियोगितामा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकहरूलाई विधागत पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट प्रदर्शनका आधारमा सन्तोष श्रेष्ठ ‘बेस्ट प्लेयर’ घोषित भए भने मिलन मानन्धरले ‘बेस्ट स्पाइकर’ को उपाधि जिते । खेलमा रक्षात्मक र आक्रामक दुवै पक्षलाई बलियो बनाउन भूमिका खेल्ने अन्य खेलाडीहरूमा शोभित राना मगर ‘बेस्ट डिफेन्डर’, कुल मगर ‘बेस्ट सर्भर’, आशिष परियार ‘बेस्ट ब्लकर’ र सरन राना मगर ‘बेस्ट सेटर’ घोषित भए । यसैगरी, खेल क्षेत्रमा उदाउँदा प्रतिभा सरोज रतनलाई ‘बेस्ट राइजिङ प्लेयर’ र टिमलाई सही मार्गदर्शन गर्ने दिल्ली भट्टराईलाई ‘बेस्ट कोच’ को रूपमा पुरस्कृत गरियो ।
प्रतियोगितालाई निष्पक्ष, मर्यादित र विवादरहित बनाउन रेफ्रीहरूको भूमिका महत्वपूर्ण रह्यो । प्रतियोगिताका खेलहरूमा सूर्य मगर, सुदिप गुरुङ, खुम गाउले तथा गजेन्द्र बानले रेफ्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । मोना म्याग्दी समाज पोर्चुगलका क्षेत्रीय अध्यक्ष छबिलाल रोका तथा भलिबल खेलकुद संयोजक यम केसीले दिएको जानकारी अनुसार प्रतियोगिता व्यवस्थापकीय दृष्टिकोणले समेत उत्कृष्ट रहेको थियो ; पूर्व राष्ट्रिय खेलाडी नरेश भाटले जानकारी दिनुभयो ।
समापन समारोहमा आयोजक संस्थाले प्रतियोगितालाई सफल बनाउन अहोरात्र खट्ने स्वयंसेवक, आर्थिक तथा नैतिक समर्थन गर्ने प्रायोजक, अनुशासित खेल प्रदर्शन गर्ने खेलाडी, टिम व्यवस्थापक र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकहरूप्रति हार्दिक आभार प्रकट गरेको छ ।
यस्ता खेलकुद मेलाले विदेशमा रहेका नेपाली युवाहरूलाई खेलप्रति प्रेरित मात्र गर्दैन, सिङ्गो नेपाली समुदायलाई भावनात्मक रूपमा एकसूत्रमा बाँध्न समेत कोसेढुङ्गा साबित हुने विश्वास आयोजकले व्यक्त गरेको छ ।





