क्रोएसिया — क्रोएसियामा कार्यरत र त्यहाँ जान चाहने विदेशी कामदारहरूका लागि सरकारले नयाँ र कडा नियमहरू समावेश गरिएको ‘विदेशी नागरिकसम्बन्धी ऐन’ संशोधनको प्रस्ताव अघि सारेको छ ।
युरोपेली संघ (ईयु) को मापदण्डसँग आफ्नो कानुन मिलाउन र आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्न क्रोएसियाली सरकारले यो कदम चालेको हो ।
यस प्रस्तावित संशोधनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भाषाको अनिवार्य सर्त हो । अबदेखि क्रोएसियामा एक वर्ष बसोबास गरिसकेका विदेशी कामदारले आफ्नो आवास तथा कार्य अनुमति नवीकरण गर्नका लागि क्रोएसियाली भाषाको कम्तीमा A1.1 स्तर उत्तीर्ण गरेको प्रमाण पेश गर्नुपर्नेछ । सरकारले विदेशी कामदारहरूलाई स्थानीय समाजमा घुलमिल गराउन र कार्यस्थलमा सञ्चार सहज बनाउन यो भाषाको सर्त अनिवार्य गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री डाभोर बोझिनोभिचले स्पष्ट पार्नुभएको छ ।
कामदारहरूका लागि केही लचिलो व्यवस्थाहरू पनि प्रस्ताव गरिएका छन् । नयाँ नियम लागू भएमा, विदेशी कामदारले एउटै रोजगारदातासँग आफ्नो कामको प्रकृति परिवर्तन गर्न पाउनेछन् । त्यस्तै, एउटै रोजगारदातासँग ६ महिना काम गरिसकेपछि नयाँ अनुमति लिने झन्झट बिना नै अर्को रोजगारदाता परिवर्तन गर्न पाइने सुविधा पनि दिइएको छ । अनुमति प्रक्रियालाई थप व्यवस्थित बनाउन यसको समयसीमा ९० दिन पुर्याइएको छ भने बेरोजगार हुनुपरेको खण्डमा नयाँ काम खोज्नका लागि दिइने समय पनि बढाइएको छ ।
मौसमी कामदार र विद्यार्थीहरूका लागि पनि सरकारले केही राहतका उपायहरू ल्याएको छ । अब मौसमी कामको अनुमति एक वर्षको सट्टा तीन वर्षसम्म वैध हुनेछ भने विद्यार्थीहरूले पनि तीन वर्षसम्मको अस्थायी बसोबास अनुमति पाउनेछन् । तर, अर्कोतर्फ रोजगारदाताहरूमाथि भने निगरानी बढाइएको छ ।
नियम मिच्ने वा कामदारको शोषण गर्ने रोजगारदातालाई ‘ब्ल्याकलिस्ट’ मा राखेर एक वर्षसम्म नयाँ कामदार ल्याउन रोक लगाइनेछ । साथै, विदेशी कामदार राख्न चाहने कम्पनीमा कम्तीमा १० प्रतिशत कर्मचारी स्थानीय क्रोएसियाली वा युरोपेली संघका नागरिक हुनुपर्ने कडा प्रावधान पनि राखिएको छ ।
यो नयाँ संशोधनले एकातिर विदेशी कामदारको हकहित र संरक्षणमा जोड दिएको छ भने अर्कोतिर क्रोएसियाली भाषा र समाजसँगको आबद्धतालाई अनिवार्य बनाएको छ । पछिल्लो समय क्रोएसियामा जारी हुने कार्य अनुमतिमा केही गिरावट आएको तथ्याङ्कका बीच सरकारले ल्याएको यो सुधारले आर्थिक आवश्यकता र सामाजिक सुरक्षाबीच सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ ।





