लिस्बन (पोर्चुगल) — लगातार आएका तीन शक्तिशाली आँधी ‘क्रिस्टिन’, ‘लियोनार्डो’ र ‘मार्टा’ ले युरोपेली मुलुक पोर्चुगललाई नराम्ररी प्रभावित बनाएको छ । विगत केही सातादेखि जारी अविरल वर्षा र तीव्र गतिको हावाहुरीका कारण देशका अधिकांश भूभाग जलमग्न भएका छन् भने जनजीवन पूर्ण रूपमा कष्टकर बनेको छ । यो प्राकृतिक विपत्तिमा परी अहिलेसम्म कम्तीमा १३ जनाको ज्यान गइसकेको पुष्टि भएको छ भने सयौँ नागरिक विस्थापित हुन पुगेका छन् ।
पोर्चुगलका ‘पुब्लिको’ र ‘दियारियो द नोटिसियास’ लगायतका स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बाढीको सबैभन्दा ठूलो असर मध्य र दक्षिणी पोर्चुगलमा देखिएको छ । विशेषगरी सान्तारेम जिल्ला र दक्षिणी भेगको अल्कासेर दो साल क्षेत्र बाढीको चपेटामा परेका छन् । टेजो र सादो नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुग्दा नदी तटीय बस्तीहरू डुबानमा परेका हुन् । राजधानी लिस्बन आसपास, लेइरिया र कोइम्ब्रा जस्ता प्रमुख सहरहरूमा पनि बाढीले सडक सञ्जाल विच्छेद गराएको छ भने पोर्टो र गाईयामा डौरो नदीको बहाव पस्दा तटीय क्षेत्रका व्यवसायहरूमा ठूलो नोक्सानी पुगेको छ ।
मानवीय क्षतिको विवरण हेर्दा हालसम्म १३ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरूले बताएका छन् । बाढीमा कार बगेर, घर भत्किएर र रूखहरू ढल्दा यी दुःखद घटनाहरू घटेका हुन् । यद्यपि पोर्चुगलमा ठ्याक्कै कति मानिस बेपत्ता छन् भन्ने यकिन तथ्यांक सार्वजनिक नभए पनि उद्धार कार्य निरन्तर जारी छ । छिमेकी मुलुक स्पेनमा समेत यसको असर परेको छ, जहाँ बाढीले बगाएर केही व्यक्ति बेपत्ता भएको खबर छ । बाढीको उच्च जोखिमका कारण करिब १,१०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ परिवार घरबारविहीन बन्न पुगेका छन् ।
भौतिक संरचनातर्फ पनि पोर्चुगलले ठूलो धक्का व्यहोरेको छ । बाढी र आँधीका कारण हजारौँ घरहरूमा क्षति पुगेको छ भने धेरैजसो घरहरू बस्नै नमिल्ने गरी डुबानमा परेका छन् । विद्युत् आपूर्ति बन्द हुँदा करिब एक लाख घरधुरी अन्धकारमा बस्न बाध्य भएका थिए ।
पोर्चुगल सरकारका मन्त्रीहरूले यस विपत्तिबाट देशलाई करिब ४ अर्ब युरोभन्दा बढीको आर्थिक भार पर्न सक्ने प्रारम्भिक अनुमान गरेका छन् । सडक, पुल र रेलवे ट्र्याकहरूमा बाढी पसेपछि यातायात सेवा समेत नराम्ररी प्रभावित भएको छ । सरकारले प्रभावित क्षेत्रहरूमा आपतकालीन अवस्थाको घोषणा गर्दै सेना र उद्धारकर्मीहरूलाई चौबीसै घण्टा परिचालन गरेको छ ।
मौसम विभागले अझै केही दिन वर्षा जारी रहन सक्ने भन्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।





