Home Login
प्रवास

पोर्चुगलमा बाढी र आँधीको वितण्डा ; राहतको घोषणासँगै पुनः भारी वर्षाको चेतावनी

पोर्चुगल  पोर्चुगलमा पछिल्लो समय आएको ‘क्रिस्टिन’, ‘लियोनार्डो’ र ‘मार्टा’ जस्ता शक्तिशाली आँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । जनवरीको अन्त्यदेखि सुरु भएको यो प्राकृतिक विपत्तिले देशका मुख्य नदीहरू डोउरो, मोन्डेगो, ट्यागस, साडो र ग्वाडिनानाको जलस्तर बढाउँदा तटीय र आसपासका क्षेत्रहरू जलमग्न भएका छन् ।

नागरिक सुरक्षा अधिकारीहरूका अनुसार यस अवधिमा करिब २४ हजारभन्दा बढी क्षति र संकटका घटनाहरू दर्ता भएका छन्, जसको व्यवस्थापनका लागि ८३ हजारभन्दा बढी सुरक्षाकर्मी र हजारौँ सवारी साधनहरू परिचालन गरिएको छ । विपत्तिको यो कठिन घडीमा सरकारले नागरिकको घाउमा मलम लगाउँदै क्षतिग्रस्त घरहरूको मर्मतका लागि प्रति घर १० हजार युरोसम्मको आर्थिक सहयोग उपलब्ध गराउने महत्वपूर्ण घोषणा गरेको छ । यो कदमले संकटमा परेका परिवारहरूलाई पुनः स्थापित हुन ठूलो ढाडस मिलेको छ ।

यद्यपि, राहत र पुनःस्थापनाको काम अघि बढ्दै गर्दा मौसममा भने अझै पूर्ण सुधार आइसकेको छैन। पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड द एटमोस्फियर (IPMA) ले मंगलबार र बुधबार पुनः भारी वर्षा हुने चेतावनी जारी गरेको छ । मौसमविद्हरूका अनुसार उष्णकटिबंधीय वायुको प्रभावका कारण पोर्चुगलको मुख्य भूमिमा अत्यधिक आर्द्रतासहितको वर्षा हुनेछ । विशेषगरी भियाना डो कास्टेलो, ब्रागा, पोर्टो र एभेइरो जस्ता उत्तरी र मध्य क्षेत्रहरूमा अत्यधिक वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै ‘अरेन्ज अलर्ट’ जारी गरिएको छ । उच्च हिमाली भेगमा तीव्र गतिको हावा चल्ने र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम अझै कायमै रहेकाले सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बिहीबारदेखि वर्षाको दरमा केही कमी आउने प्रक्षेपण गरिएको भए तापनि यो साताभरि नै मौसम अस्थिर रहने देखिएको छ । तापक्रम भने फेब्रुअरी महिनाको औषतभन्दा केही बढी रहने अनुमान गरिएको छ । बाढीग्रस्त क्षेत्रहरूमा अवस्था केही सुधारोन्मुख देखिए पनि नयाँ वर्षाको लहरले थप चुनौती थप्न सक्ने खतरा छ ।

यस्तो अवस्थामा सरकारले घोषणा गरेको राहत प्याकेजले जनतामा “राज्य हाम्रो साथमा छ” भन्ने बलियो भरोसा प्रदान गरेको छ । अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई मौसमको आधिकारिक जानकारी पछ्याउन र सुरक्षित रहन निरन्तर अनुरोध गरिरहेका छन् ।

Leave a Reply