लिस्बन — पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले पोर्चुगलको आप्रवासन मामिला हेर्ने निकाय ‘एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलम’ (एआईएमए) का उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको छ । सोमबार (०९ फेब्रुअरी २०२६) लिस्बनस्थित एआईएमएकाे मुख्यालयमा पुगेर राजदूत पौडेलले एआईएमएका प्रेसिडेन्ट पेड्रो पोर्चुगल गेस्पासँग शिष्टाचार भेट गर्नुभएको हो ।
निकै सौहार्दपूर्ण वातावरणमा भएको उक्त भेटवार्ता विशेषगरी पोर्चुगलमा रहेका नेपाली समुदायले भोग्नुपरेका विविध समस्या र प्रशासनिक जटिलतामा केन्द्रित थियो । सो अवसरमा राजदूत पौडेलले नेपाली आप्रवासीहरूले कागजात प्रमाणीकरण लगायतका प्रक्रियामा लामो समय कुर्नुपरेको र यसले सिर्जना गरेका अप्ठ्याराबारे प्रेसिडेन्ट गेस्पाको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
भेटका क्रममा एआईएमएका तर्फबाट नेपाली समुदायका समस्यालाई नजिकबाट बुझेर समाधानका उपायहरू खोज्ने विषयमा सकारात्मक छलफल भएको थियो । प्रशासनिक प्रक्रियालाई सहज र छिटो छरितो बनाउने विषयमा दुवै पक्षबीच गहन विचारविमर्श भएको बताइएको छ । यस छलफलमा नेपाली राजदूतावासका नियोग उपप्रमुख शत्रुध्वन पोखरेलको पनि उपस्थिति रहेको थियो ।
पोर्चुगलमा नेपालीहरूको संख्या बढ्दै गइरहेको सन्दर्भमा दूतावासले गरेको यो उच्चस्तरीय कूटनीतिक पहलले यहाँ बसोबास गर्ने नेपालीहरूका लागि कागजी प्रक्रियामा देखिएका गाँठा फुकाउन र सेवा प्रवाहलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।





