Home Login
पोर्चुगल

खराब मौसमका कारण लिस्बन मेट्रोमा सतर्कता ; केही स्टेशनका प्रवेशद्वार बन्द

पोर्चुगल (लिस्बन) — लिस्बन र यसको वरपरको क्षेत्रमा बढ्दो खराब मौसम र भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै लिस्बन मेट्रोले उच्च सतर्कता अपनाएको छ । सम्भावित बाढी र सञ्चार अवरोधलाई कम गर्न मेट्रो प्रशासनले यस शनिबारदेखि विभिन्न निवारक उपायहरू लागू गर्ने घोषणा गरेको हो ।

विशेषगरी वर्षाको पानी वा नदीको सतह बढेर स्टेशनभित्र पस्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक कदम चालिएको छ ।

मेट्रो प्रशासनका अनुसार, सबैभन्दा बढी जोखिममा रहेका स्टेशनहरूका केही निश्चित प्रवेशद्वारहरूमा सुरक्षात्मक अवरोधहरू खडा गरिनेछ । यस प्रक्रियामा ६ वटा प्रमुख स्टेशनका केही प्रवेशद्वारहरू अस्थायी रूपमा बन्द गरिएको छ । जसअनुसार पहेंलो लाइनको ओडिभेलास स्टेशनको एउटा पहुँच मार्ग र निलो लाइनको साओ सेबास्टियाओ तथा टेरेइरो डो पाको स्टेशनका केही द्वारहरू बन्द रहनेछन् । त्यसैगरी ग्रीन लाइन अन्तर्गत पर्ने रोसियो, अल्भालाडे र रोमा स्टेशनका केही प्रवेश बिन्दुहरूमा पनि आवतजावत बन्द गरिएको छ । यद्यपि, यात्रुहरूको सहजताका लागि ती स्टेशनका वैकल्पिक प्रवेशद्वारहरू भने सञ्चालनमै रहने स्पष्ट पारिएको छ ।

प्राविधिक तयारीका रूपमा मेट्रोले पम्पिङ प्रणालीलाई थप सुदृढ बनाएको छ । विशेष गरी जार्डिम जुलोजिको र प्राका डे एस्पान्हा खण्डमा उच्च–प्रवाह क्षमता भएका थप पम्पहरू जडान गरिनुका साथै त्यस क्षेत्रको निरन्तर अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । खराब मौसमका कारण रेल सेवामा केही ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई आफ्नो यात्रा तय गर्दा समयको ख्याल गर्न र सावधानी अपनाउन मेट्रोले अनुरोध गरेको छ ।

Leave a Reply