बार्सिलोना (स्पेन) — स्पेन सरकारले देशमा बिना अनुमति बसोबास गरिरहेका करिब ५ लाख आप्रवासीहरूलाई लक्षित गर्दै एक ठूलो नियमितीकरण कार्यक्रमको घोषणा गरेसँगै यहाँका विदेशी समुदायमा नयाँ उत्साह र व्यस्तता थपिएको छ । जनवरी २७, २०२६ का दिन म्याड्रिडमा समाजवादी नेतृत्वको गठबन्धन सरकारले चालेको यो कदमले वर्षौंदेखि कानुनी पहिचानको पर्खाइमा रहेका हजारौँ आप्रवासीहरूका लागि नागरिकता र कामको अधिकार पाउने बाटो खोलेको छ ।
यस घोषणाको सीधा प्रभाव बार्सिलोनाका सडकहरूमा देखिन थालेको छ । विशेष गरी बार्सिलोनास्थित पाकिस्तानी वाणिज्य दूतावास बाहिर शुक्रबार बिहानैदेखि सेवाग्राहीहरूको लामो लाइन लागेको छ। नयाँ अध्यागमन नियमका लागि अनिवार्य मानिएको ‘आपराधिक रेकर्ड प्रमाणपत्र’ लिनका लागि मानिसहरू घण्टौँदेखि पालो पर्खिरहेका छन् । सरकारले कागजी प्रक्रियाका लागि केही महिनाको समय दिए पनि, आवश्यक कागजात जुटाउन अहिलेदेखि नै आप्रवासीहरू सक्रिय देखिएका हुन् ।
स्पेनी आप्रवासन मन्त्री एल्मा साइजका अनुसार, यो नयाँ व्यवस्था संसद्को अवरोधलाई छल्न अध्यागमन कानून संशोधनको विशेष आदेशमार्फत ल्याइएको हो । सरकारसँग संसद्मा स्पष्ट बहुमत नभएका कारण विधेयक पारित गर्न कठिन हुने भएपछि यो द्रुत मार्ग अपनाइएको बुझिएको छ । यस प्रक्रियाले विशेष गरी डिसेम्बर ३१, २०२५ भन्दा अगाडि अन्तर्राष्ट्रिय सुरक्षाको लागि आवेदन दिएका र कम्तीमा पाँच महिनादेखि स्पेनमा बसोबास गरिरहेका व्यक्तिहरूलाई समेट्नेछ ।
यो कार्यक्रम अन्तर्गत योग्य ठहरिएका आप्रवासीहरूले एक वर्षको अस्थायी बसोबास अनुमति र कानुनी रूपमा काम गर्ने अधिकार प्राप्त गर्नेछन् । यस सुधारको अर्को महत्वपूर्ण पक्ष भनेको परिवारको एकतालाई ध्यानमा राख्दै, स्पेनमा पहिले नै बसोबास गरिरहेका आवेदकका छोराछोरीहरूलाई पनि यसै प्रक्रियामार्फत नियमित गरिने व्यवस्था हो। यसले गर्दा आप्रवासी परिवारहरूले लामो समयदेखि भोग्दै आएको अनिश्चितता अन्त्य हुने अपेक्षा गरिएको छ ।
सरकारी कार्यतालिका अनुसार, यस कार्यक्रमको लागि औपचारिक आवेदन प्रक्रिया आगामी अप्रिल महिनामा खुल्नेछ र जुन महिनाको अन्त्यसम्म जारी रहनेछ । यो छोटो अवधिको झ्यालका कारण पनि आप्रवासीहरू आफ्ना कागजातहरू दुरुस्त राख्न हतारिएका हुन् । यस कदमलाई स्पेनको अर्थतन्त्रमा आप्रवासीहरूको योगदानलाई मान्यता दिने र उनीहरूलाई सामाजिक मूलधारमा ल्याउने एक महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।





