Home Login
प्रवास

कोइम्ब्रामा ‘महाबाढी’ को खतरा टर्‍यो ; मेयरको सन्देश– ‘अझै घर नफर्कनुस्’

कोइम्ब्रा — पोर्चुगलको कोइम्ब्रा सहरमा केही दिनदेखिको खराब मौसम र भारी वर्षाका कारण उत्पन्न ‘शताब्दी बाढी’ अर्थात् महाविपत्तिको उच्च जोखिम तत्कालका लागि टरेको छ ।

कोइम्ब्राकी मेयर आना अब्रुनहोसाले वर्षामा आएको कमी र मौसममा देखिएको क्रमिक सुधारसँगै सहर अब अधिकतम बाढीको जोखिमबाट बाहिर निस्किएको जानकारी दिएकी हुन् । यो घोषणासँगै बाढीको त्रास र तनावमा रहेका सहरवासीले केही राहत महसुस गरेका छन् ।

मेयर अब्रुनहोसाले सम्भावित भयानक परिदृश्यबाट सहर जोगिएकोमा सन्तोष व्यक्त गर्दै भनिन्, “भाग्यवश, हामीले डराएको सबैभन्दा खराब अवस्था आएन ।” उनले विपद्को यस घडीमा प्रशासनको निर्देशनलाई पालना गरेको र संयमता अपनाएको भन्दै कोइम्ब्राका नागरिकहरूप्रति आभार समेत प्रकट गरिन् । “हामीलाई विश्वास गर्ने जनताप्रति हामी धेरै आभारी छौं,” उनले भनिन्, साथै अब खतरा कम भएको ठानेर कसैले पनि अनावश्यक जोखिम मोल्न नहुने कुरामा उनले जोड दिइन् ।

यद्यपि, ठूलो विपत्ति टरे पनि सङ्कट पूर्ण रूपमा हटेको छैन । मेयरका अनुसार पहिले नै डुबानमा परेका र बाढी प्रभावित क्षेत्रहरूको अवस्था अझै उस्तै छ । तसर्थ, बाढीको जोखिमका कारण सुरक्षित स्थानमा सारिएका वा घर छोडेर हिँडेका नागरिकहरूलाई तत्कालै आ-आफ्नो घर नफर्कन प्रशासनले अनुरोध गरेको छ । खाली गरिएका क्षेत्रहरू अझै पनि बस्नका लागि सुरक्षित भइसकेका छैनन् ।

प्रशासनले सुरक्षाका सम्पूर्ण मापदण्ड र परिस्थितिहरूको मूल्याङ्कन गरिरहेको छ । विस्थापित नागरिकहरूलाई घर फर्कनका लागि स्थिति पूर्ण रूपमा सुरक्षित भएको यकिन भएपछि मात्र आधिकारिक रूपमा अनुमति र सङ्केत दिइनेछ । तबसम्मका लागि सबैलाई सुरक्षित स्थानमै रहन र धैर्य गर्न आग्रह गरिएको छ ।

Leave a Reply