Home Login
प्रवास

क्रिस्टिन आँधीबाट प्रभावित किसानहरूका लागि ४० मिलियन युरोको राहत प्याकेज घोषणा

पोर्चुगल — पोर्चुगलको कृषि तथा समुद्र मन्त्रालयले विनाशकारी ‘क्रिस्टिन’ आँधीबाट प्रभावित किसानहरूलाई ठूलो राहतको घोषणा गरेको छ । आँधीका कारण कृषि क्षेत्रमा पुगेको ठूलो क्षतिलाई मध्यनजर गर्दै, सरकारले उत्पादक क्षमता पुनर्स्थापना गर्ने उद्देश्यले ४० मिलियन युरो (करिब ४ करोड युरो) को विशेष सहयोग कार्यक्रम सार्वजनिक गरेको छ । यो पहलले प्राकृतिक प्रकोपको चपेटामा परेका कृषकहरूलाई आफ्नो व्यवसाय पुनः सुरु गर्न र गुमेको संरचना पुनर्निर्माण गर्न महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद्को प्रस्तावमा तोकिएका नगरपालिकाहरू भित्र पर्ने र आँधीका कारण आफ्नो कुल उत्पादक क्षमताको ३० प्रतिशतभन्दा बढी क्षति बेहोरेका कृषि फार्महरूले यो सुविधा प्राप्त गर्नेछन् । यो आर्थिक सहयोग फिर्ता गर्नु नपर्ने अनुदानको रूपमा उपलब्ध गराइनेछ, जसले ५ हजार देखि ४ लाख युरोसम्मको लगानी आवश्यक पर्ने पुनर्निर्माण कार्यहरूलाई समेट्नेछ । यसले साना तथा मझौला किसानहरूलाई ऋणको बोझ बिना नै आफ्नो कृषि कर्ममा फर्कन प्रोत्साहन गर्नेछ ।

सहयोग रकमको वितरण प्रणालीलाई पनि वैज्ञानिक र व्यवहारिक बनाइएको छ । १० हजार युरोसम्मको योग्य खर्चको हकमा सरकारले शतप्रतिशत (१००%) रकम बेहोर्नेछ । यदि लगानी वा खर्च सो रकमभन्दा माथि भएमा, कृषि बीमा गरेका किसानहरूले ८० प्रतिशत सहयोग पाउनेछन् भने बीमा नभएकाहरूको हकमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।

यी खर्चहरू जलवायु घटना भएको मितिदेखि मान्य हुनेछन्, तर क्षतिको यकिन र प्रमाणीकरण भने सम्बन्धित क्षेत्रीय समन्वय र विकास आयोगहरू द्वारा गरिनुपर्नेछ । इच्छुक र योग्य किसानहरूले पोर्चुगलको मुख्य भूमिमा लागू हुने गरी PEPAC पोर्टलमा उपलब्ध इलेक्ट्रोनिक फारम मार्फत आफ्नो आवेदन पेश गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

यस विपद्को घडीमा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने कृषि तथा समुद्री मन्त्री जोसे म्यानुअल फर्नान्डेसले स्पष्ट पारेका छन्। उनले “कसैलाई पनि एक्लै नछोडिने” प्रतिबद्धता व्यक्त गर्दै प्रभावितहरूलाई ढाडस दिएका छन् । मन्त्री फर्नान्डेसका अनुसार, क्षेत्रीय समन्वय तथा विकास आयोगहरू (CCDRs) स्थानीय स्तरमै खटिएर आवश्यक सहयोग प्रदान गर्न र किसानहरूले यो सुविधा सहजै प्राप्त गर्न सकून् भन्ने सुनिश्चित गर्न पूर्ण रूपमा परिचालित भएका छन् । सरकारको यो कदमले प्राकृतिक प्रकोपहरूप्रति द्रुत र प्रभावकारी प्रतिक्रिया जनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ भने जलवायु परिवर्तनको बढ्दो प्रभावका बीच कृषि क्षेत्रको लचिलोपन निर्माणमा पनि यसले सहयोग पुर्‍याउनेछ ।

यसै सन्दर्भमा, सरकारले अर्को आँधी ‘क्लाउडिया’ बाट प्रभावितहरूका लागि पनि फेब्रुअरी ३ मा डिक्री नम्बर १२१८/२०२६ जारी गरेको छ । जसअनुसार क्लाउडिया आँधीबाट क्षति पुगेका फार्महरूलाई सहयोग गर्न थप ३.१५ मिलियन युरो विनियोजन गरिएको छ । यी दुवै निर्णयले कृषि क्षेत्रको पुनरुत्थान र किसानहरूको जीवनस्तर उकास्न सरकारले लिएको गम्भीरतालाई उजागर गरेको छ ।

Leave a Reply