काठमाडौं – सन् २०२६ को सुरुवातसँगै नेपालको पर्यटन क्षेत्रले ऐतिहासिक फड्को मारेको छ । जनवरी महिनाको तथ्याङ्कले नेपाल अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइमा तीव्र रूपमा परिरहेको देखाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२६ को पहिलो महिनामा नै नेपालले ९२,५७३ अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या केवल अघिल्लो वर्ष (जनवरी २०२५) को तुलनामा १५ प्रतिशतले बढी मात्र होइन, बरु कोभिड महामारी अघिको सामान्य अवस्था अर्थात् सन् २०१९ को तुलनामा पनि १४ प्रतिशतले बढी हो । यसले नेपालको पर्यटन पुनरुत्थान मात्र नभई नयाँ उचाइतर्फ लम्किएको स्पष्ट सङ्केत गर्दछ ।
विशेषगरी यसपटकको आगमनमा युरोपेली बजारको उपस्थिति निकै लोभलाग्दो देखिएको छ । नेपाल आउने कुल पर्यटकमध्ये १२.३ प्रतिशत हिस्सा युरोपेली मुलुकहरूले ओगटेका छन् । लामो बसाइ र उच्च खर्च क्षमता भएका युरोपेली पर्यटकहरूको यो आगमनले नेपालको पर्वतीय पर्यटन, संस्कृति र सम्पदाप्रतिको पश्चिमा आकर्षण यथावत र बलियो रहेको पुष्टि गरेको छ। विश्वव्यापी आर्थिक उतारचढावका बाबजुद युरोपबाट देखिएको यो उत्साहजनक सहभागिताले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स’ गन्तव्यका रूपमा स्थापित गर्न ठूलो मद्दत पुर्याएको व्यवसायीहरूको बुझाइ छ ।
छिमेकी मुलुकहरूबाट हुने आगमनको हिस्सा सधैझैँ उच्च रहे पनि युरोप र अमेरिका जस्ता लामो दूरीका बजारहरू बाट भइरहेको निरन्तर आगमनले नेपालको पर्यटन क्षेत्रलाई दिगो बनाउन मद्दत गरेको छ । तथ्याङ्क अनुसार दक्षिण एसियाली मुलुक (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक आउँदा अन्य एसियाली मुलुकबाट २६.१ प्रतिशत पर्यटक भित्रिएका छन् ।
त्यस्तै, उत्तर तथा दक्षिण अमेरिकाबाट १०.८ प्रतिशत, ओशिनियाबाट ५.७ प्रतिशत र मध्य पूर्वबाट १.० प्रतिशत पर्यटक नेपाल आएका छन् ।
देशगत रूपमा हेर्दा, सधैझैँ भारत शीर्ष स्थानमा रहन सफल भएको छ। जनवरीमा २६,६२४ भारतीय पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो । दोस्रो स्थानमा उत्तरी छिमेकी चीन रहेको छ, जहाँबाट ९,१०१ (९.८%) पर्यटक आएका छन्। तेस्रो स्थानमा संयुक्त राज्य अमेरिका देखिएको छ, जहाँबाट ८,४०६ जना (९.१%) पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसैगरी बंगलादेशबाट ५,८१४ र अष्ट्रेलियाबाट ४,९५७ जना पर्यटकको आगमनले शीर्ष ५ मुलुकको सूचीलाई पूर्णता दिएको छ ।
जनवरी महिनामा देखिएको यो वृद्धिले विश्व पर्यटन बजारमा नेपालप्रतिको विश्वास र आशावाद बढेको कुरालाई प्रतिबिम्बित गरेको छ । महामारीपछिको सुस्ततालाई चिर्दै सन् २०१९ को रेकर्डलाई समेत पछि पार्नुले सन् २०२६ नेपालको पर्यटन इतिहासमा कोसेढुङ्गा साबित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।





