पोर्चुगल — पोर्चुगलको मोन्तिजोमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था ‘मोन्तिजो नेपाली समाज’ ले यस वर्ष पनि फुटबलको महाकुम्भ आयोजना गर्ने भएको छ । समाजले आगामी मार्च महिनामा ‘दोस्रो मोन्तिजो गोल्ड कप ७ ए साइड फुटबल प्रतियोगिता’ आयोजना गर्ने औपचारिक निर्णय गरेको हो ।
खेलकुदका माध्यमबाट प्रवासमा रहेका नेपाली युवाहरूलाई एकताबद्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो प्रतियोगिता आगामी २२ मार्चमा सञ्चालन हुनेछ । मोन्तिजो नेपाली समाजका अध्यक्ष सोम गुरुङका अनुसार, यो प्रतियोगिता केवल खेल मात्र नभएर प्रवासमा भाइचाराको सम्बन्ध विस्तार गर्ने एउटा महत्त्वपूर्ण माध्यम पनि हो ।
प्रवासको व्यस्त र तनावपूर्ण दैनिकीका बीच नेपाली युवाहरूलाई शारीरिक तथा मानसिक रूपमा स्फूर्त राख्न यस्ता प्रतियोगिताहरूले ठूलो भूमिका खेल्दै आएका छन् । अध्यक्ष गुरुङले युवाहरूलाई संगठित गर्दै उनीहरूभित्रको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्न समाज सधैं क्रियाशील रहेको बताउनुभयो । ‘दोस्रो मोन्तिजो गोल्ड कप’ ले पोर्चुगलका विभिन्न क्षेत्रमा रहेका नेपाली खेलाडीहरूलाई एउटै मैदानमा उतार्ने र आपसी सद्भाव बढाउने विश्वास आयोजकले लिएको छ ।
प्रतियोगिता नजिकिँदै गर्दा समाजले यसको तयारीलाई तीव्रता दिने जनाएको छ । पोर्चुगलमा फुटबल निकै लोकप्रिय खेल मानिने हुँदा यस प्रतियोगितामा विभिन्न सहरबाट उल्लेख्य टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण पोर्चुगलवासी नेपालीहरूमा आग्रह समेत गरेको छ ।





