बर्लिन (जर्मनी) — बर्लिनस्थित नेपाली राजदूतावासले रोमानिया र सर्बियामा सञ्चालन गर्न लागेको राहदानी घुम्ती सेवा (मोवाइल क्याम्प) विशेष कारणवश हाललाई स्थगित गरेको छ । पश्चिम एसियाली मुलुकहरूमा पछिल्लो समय देखिएको तनाव र त्यसले हवाई उडानमा पारेको अवरोधका कारण दूतावासले यस्तो निर्णय लिनुपरेको हो ।
यसअघि आगामी मार्च ११ देखि १५, २०२६ सम्म रोमानियाको राजधानी बुखारेस्टमा र मार्च १४, २०२६ का दिन सर्बियामा राहदानी सम्बन्धी सेवा प्रवाह गर्ने तयारी गरिएको थियो । तर, क्षेत्रीय तनावका कारण उत्पन्न हवाई उडानको समस्याले गर्दा राहदानी विभाग, काठमाडौंबाट खटिएर आउने कर्मचारीहरू आवश्यक उपकरणसहित निर्धारित समयमा बुखारेस्ट पुग्न नसक्ने अवस्था सिर्जना भएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।
राजदूतावासका अनुसार पश्चिम एसियाली मुलुकहरूबाट हवाई सेवा सुचारु हुनासाथ रोमानिया र सर्बियामा घुम्ती शिविर सञ्चालनका लागि नयाँ मिति तय गरिनेछ । नयाँ तालिकाबारे यथाशीघ्र अर्को सूचना जारी गरी जानकारी गराइने र सोही अनुसार सेवा प्रवाह गरिने दूतावासले स्पष्ट पारेको छ ।
आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा पूर्वनिर्धारित कार्यक्रमको मिति सार्नुपरेकोमा राजदूतावासले सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत व्यक्त गरेको छ । जर्मनीको बर्लिनमा रहेको राजदूतावासले नै यी क्षेत्रका नेपाली नागरिकहरूका लागि राहदानी लगायतका कूटनीतिक सेवाहरूको समन्वय गर्दै आइरहेको छ ।






