लिस्बन (पोर्चुगल) — पोर्चुगलको मौसम तथा समुद्र विज्ञान संस्थान (IPMA) र नागरिक सुरक्षा प्राधिकरणले ‘क्रिस्टिन’ नाम दिइएको शक्तिशाली आँधीको चेतावनी दिँदै देशको मध्य र उत्तरी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भोलि, जनवरी २८ तारिखको बिहान पोर्चुगलको मुख्य भूमिमा प्रवेश गर्ने यो आँधीको सामना गर्न भियाना डो कास्टेलो देखि सेतुबलसम्मको सम्पूर्ण तटरेखामा विशेष तयारीको स्तरलाई अधिकतम विन्दु अर्थात् ‘स्तर ४’ मा पुर्याइएको छ ।
यो आँधी एक सामान्य मौसमी गडबडी मात्र नभएर ‘विस्फोटक चक्रवात’ को रूपमा विकसित भइरहेको छ । मौसम विज्ञानका अनुसार २४ घण्टाभित्र वायुमण्डलीय चाप तीव्र गतिमा घट्ने अनुमान गरिएको छ, जसले यसलाई अत्यन्त शक्तिशाली र विनाशकारी बनाउन सक्छ । करिब ११० किलोमिटर प्रतिघण्टाको गतिमा पूर्वतर्फ सर्दै गरेको क्रिस्टिनले मुख्य भूमि पोर्चुगलको पश्चिमी तटमा भोलि बिहान ०३:०० देखि ०६:०० UTC (स्थानीय समय) को बीचमा अवतरण गर्ने सम्भावना छ। मौसम मोडेलहरूले यो आँधीले विशेषगरी फिगुइरा दा फोज र भिला डो कोन्डेको बीचमा जमिन छुने संकेत गरेका छन्, यद्यपि यसको प्रभाव क्षेत्र व्यापक हुनेछ ।
आँधीको प्रभाव सबैभन्दा बढी कोइम्ब्रा जिल्ला तथा उत्तरमा एभिरोदेखि दक्षिणमा लेरियासम्म पर्ने देखिन्छ । आँधीको केन्द्रमा रहने अत्यधिक न्यून चापका कारण तटीय र उच्च पहाडी भेगमा सामान्यतया १०० देखि १२० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्नेछ । यद्यपि, स्थानीय भूगोल र आँधीको मार्गका आधारमा केही स्थानमा हावाको वेग बढेर १४० देखि १६० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने गम्भीर चेतावनी दिइएको छ ।
तीव्र हावासँगै देशका अधिकांश भागमा भारी वर्षाको पनि पूर्वानुमान गरिएको छ। बिहान सबेरैसम्म वर्षा तीव्र हुनेछ भने ६०० देखि ८०० मिटरभन्दा माथिका पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मध्य बिहानदेखि हिमपातको क्रम १२०० देखि १४०० मिटरको उचाइतर्फ सर्ने अनुमान गरिएको छ ।
जमिनमा मात्र नभई समुद्रमा पनि यसको भयानक असर देखिनेछ । पश्चिमी तटीय क्षेत्रमा आउने आँधीका कारण समुद्र अत्यन्तै अशान्त रहनेछ । पश्चिमी तटमा ५.५ देखि ८ मिटर उचाइका छालहरू उठ्नेछन् भने केही स्थानमा १४ मिटरसम्म अग्ला छालहरू आउन सक्ने जोखिम रहेको छ । समुद्री सतहको यो प्रतिकूल अवस्था जनवरी ३० सम्म जारी रहन सक्ने बताइएको छ ।
खराब मौसम, तीव्र हावा, र हिमपातको जोखिमलाई मध्यनजर गर्दै मौसम विभागले प्रभावित क्षेत्रहरूमा रातो र सुन्तला रङको चेतावनी जारी गरेको छ, जसलाई आगामी घण्टाहरूमा अद्यावधिक गरिनेछ । आँधी तीव्र गतिमा पूर्वतिर सर्ने हुनाले भोलि बिहानपछि मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ ।
यद्यपि, आँधीको समयमा नागरिकहरूलाई घरभित्रै रहन, तटीय क्षेत्रमा नजान र सडक यात्रामा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ । मौसमको आधिकारिक र ताजा जानकारीका लागि IPMA को वेबसाइट (www.ipma.pt) तथा सञ्चार माध्यमहरू नियमित रूपमा हेर्न नागरिक सुरक्षाले अनुरोध गरेको छ ।





