लिस्बन (पोर्चुगल) — पोर्चुगलमा शनिबार बिहानैदेखि आएको शक्तिशाली आँधी ‘इन्ग्रिड’ले जनजीवन नराम्ररी प्रभावित बनाएको छ । राष्ट्रिय आपतकालीन तथा नागरिक सुरक्षा प्राधिकरण (ANEPC) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार, आँधीका कारण कास्केस र पेनिचे लगायतका क्षेत्रमा गरी कम्तीमा १७ जना विस्थापित भएका छन् भने एक जना घाइते भएका छन् ।
खराब मौसम र समुन्द्रमा आएको उच्च छालका कारण अधिकारीहरूले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँदै ‘रेड अलर्ट’ (रातो लेभलको चेतावनी) जारी गरेका छन् ।
घटनाको विवरण दिँदै कमाण्डर जोसे कोस्टाले कास्केस नगरपालिकाको साओ डोमिंगोस डे रानामा आँधीको वेगले एउटा घर भत्किएको जानकारी दिए । घर भत्किँदा त्यहाँ बसोबास गर्ने तीन जनाको परिवार विस्थापित भई हाल आफन्तको घरमा शरण लिन बाध्य भएका छन् । त्यस्तै, पेनिचे नगरपालिकामा भारी वर्षा र बाढीका कारण बस्तीहरू डुबानमा परेका छन् । घरहरू बस्न अयोग्य भएपछि त्यहाँका १४ जना बासिन्दालाई तत्काल उद्धार गरी नगरपालिकाको मण्डपमा सारिएको छ। यसअघि पनि लेइरिया जिल्लाको अल्कोबाका र सान्तारम जिल्लाको कार्टाक्सोमा गरी चार जना विस्थापित भइसकेको प्राधिकरणले जनाएको थियो ।
आँधीका कारण भियाना डो कास्टेलो जिल्लाको पोन्टे डे लिमामा एक ७० वर्षीया वृद्धा घाइते भएकी छिन् । उनी खोलामा खसेर घाइते भएपछि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ। मानवीय क्षति कम भए पनि भौतिक संरचना र सार्वजनिक सेवामा भने आँधीले ठूलो अवरोध सिर्जना गरेको छ ।
प्राधिकरणका अनुसार देशभर आँधीसँग सम्बन्धित ८९२ वटा घटनाहरू दर्ता भएका छन् । हावाहुरीका कारण ३२९ वटा रुखहरू ढलेका छन् भने २४३ स्थानमा सडक अवरोध हटाउन सरसफाई गर्नु परेको छ । यसका साथै १८७ वटा संरचनाहरू भत्किएको, ७७ ठाउँमा पहिरो गएको र ५१ स्थानमा बाढी पसेको रिपोर्ट गरिएको छ । आपतकालीन टोलीले चारवटा जटिल पानी उद्धार कार्यहरू समेत सम्पन्न गरेको छ ।
भौगोलिक रूपमा हेर्दा, देशको राजधानी लिस्बन र तेजो उपत्यका आँधीबाट सबैभन्दा बढी प्रभावित बनेका छन्, जहाँ ३६१ वटा घटनाहरू घटेका छन् । यसबाहेक उत्तरी क्षेत्रमा २४३, मध्य क्षेत्रमा १९०, एलेन्टेजोमा ५२ र पर्यटकीय क्षेत्र अल्गार्वेमा ४६ वटा घटनाहरू रेकर्ड गरिएको छ । समुन्द्रमा आएको असामान्य छाल र निरन्तरको खराब मौसमका कारण प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।





