पोर्चुगल — पोर्चुगलको आप्रवासन र शरणका लागि एजेन्सी (एआईएमए) ले आप्रवासीहरूका लागि आफ्नो ठेगाना परिवर्तन वा अद्यावधिक गर्ने प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाएको छ । धेरै आप्रवासीहरू कोठा वा घर सर्दा आफ्नो आधिकारिक विवरण कसरी सच्याउने भन्ने अन्योलमा परिरहेका बेला, एआईएमएले हालै जारी गरेको सूचनाले यस प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र छिटो बनाउने मार्ग प्रशस्त गरेको छ ।
एआईएमएले प्रस्ट पारे अनुसार, अब सेवाग्राहीले कुनै कार्यालयमा भौतिक रूपमा उपस्थित नभई अनलाइन माध्यमबाटै यो सुविधा लिन सक्नेछन् । यस प्रक्रियाको सुरुवात गर्नका लागि सेवाग्राहीले सबैभन्दा पहिले एआईएमएद्वारा उपलब्ध गराइएको आधिकारिक ‘सम्पर्क फारम’ (Contact Form) भएको वेबसाइटमा पहुँच बनाउनुपर्नेछ । वेबसाइटको लिङ्क खोलिसकेपछि त्यहाँ विभिन्न विकल्पहरू देखा पर्छन्, जसमध्ये प्रयोगकर्ताले ‘विषय प्रकार’ (Subject Type) अन्तर्गत ‘नवीकरण पोर्टल’ (Renewal Portal) भन्ने विकल्प छान्नुपर्ने हुन्छ ।
यति गरिसकेपछि प्रक्रियाको अर्को चरणमा ‘विषय उपप्रकार’ (Subject Subtype) छान्नुपर्ने हुन्छ । त्यहाँ उपलब्ध सूचीमध्येबाट ‘सञ्चार वा सही ठेगाना’ (Communication/Correct Address) चयन गर्नुपर्छ । यो विकल्प छानेपछि प्रणालीले तपाईंलाई आफ्नो नयाँ विवरण राख्ने अनुमति दिन्छ ।
यहाँ आवेदकले आफूले दर्ता गर्न चाहेको वा परिवर्तन गर्न खोजेको नयाँ ठेगानाको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । साथै, उक्त ठेगाना सही हो भनी पुष्टि गर्नका लागि आवश्यक प्रमाण वा कागजातहरू (जस्तै: बसोबासको प्रमाण पत्र – Junte de Freguesia) पनि सोही फारममा संलग्न वा अपलोड गर्नुपर्ने हुन्छ ।
आवेदकले अनलाइनमार्फत आफ्नो विवरण र कागजात सफलतापूर्वक पेश गरिसकेपछि, एआईएमएले त्यसलाई तत्काल प्रक्रियामा लैजाने बताएको छ । एआईएमएका अनुसार, निवेदन दर्ता भएको बढीमा दुई कार्यदिन (Working Days) भित्र प्रणालीमा तपाईंको नयाँ ठेगाना अद्यावधिक गरिसकिनेछ । यो नयाँ व्यवस्थाले आप्रवासीहरूलाई आफ्नो रेसिडेन्सी कार्ड वा अन्य महत्त्वपूर्ण कागजातहरू हुलाकमार्फत प्राप्त गर्न सहज हुने र पुरानो ठेगानाका कारण हुने समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ ।





