बुकारेस्ट (रोमानिया) — प्रवासमा आफ्नो भाषा, धर्म, कला, संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने मूल नारालाई आत्मसात गर्दै सन् २०२३ जनवरी १ मा स्थापना भएको नेपाल तामाङ घेदुङ रोमानियाले मञ्जुश्री सम्बत २८६२ ता ल्हो (सोनाम ल्होछार) को पावन अवसरमा आयोजना गरेको बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रम २०२६ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा रोमानियाको धार्मिक मन्त्रालयका संस्कृति निर्देशक मिहाइ मिरोन ज्यू विशिष्ट अतिथिका रूपमा तथा श्रद्धेय खेन्पो लामा मिग्मार ड्राकपो रेपा ज्यू प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो । साथै काग्युन बौद्ध संघ, शेर्पा किदुग रोमानिया, तमु समाज रोमानिया, नेपाल किरात सेवा समाज रोमानिया, नेपाल मगर समाज रोमानिया, नेपाल एकता समाज रोमानिया, यस रोमानिया समाज, ह्योल्मो समुदायका प्रतिनिधिहरू, बुकारेस्ट चर्च, विभिन्न व्यवसायी, सञ्चारकर्मी तथा रोमानियामा रहेका नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
धार्मिक अनुष्ठान, परम्परागत सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा शुभकामना आदान–प्रदान कार्यक्रमसहित सम्पन्न उक्त समारोहले तामाङ समुदायको पहिचान, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न प्रायोजक तथा सहयोगी संस्थाहरू—शलमानी ओभरसिज प्रा.लि., कर्मा इन्टरनेशनल, ग्लोबल वेलफेयर एचआर सोलुसन, टिएमएस इन्टरनेशनल, ओसन ब्राइट, जोर्डन रिभर रिक्रुटमेन्ट, इन्डिका ७, एभरेस्ट जब्स, उमनकेयर रिक्रुटिङ एस.आर.एल., पर्स्पेक्टिभ फर यू, काठमाडौं इन्टरनेशनल, वेस्टर्न युनियन मनी ट्रान्सफर, एचपिआइ ग्लोबल ओभरसिज, ट्राइकोन म्यानेजमेन्ट, ड्रीम्स होस्टेललगायत व्यक्तित्व तथा संस्थाहरूलाई आयोजक नेपाल तामाङ घेदुङ रोमानियाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष फुर्साङ लामाले कार्यक्रम सञ्चालनका क्रममा कुनै त्रुटि वा कमजोरी हुन गएको भए क्षमायाचना गर्दै आगामी दिनहरूमा पनि सबैको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरिएको बताएका छन् । साथै सोनाम ल्होछार २८६२ को पावन अवसरमा सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र समृद्धिको कामना समेत व्यक्त गरिएको छ ।

उक्त कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सांस्कृतिक चेतनालाई थप सुदृढ बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको छ ।





