Home Login
भिडियो

धादिङ चिनाउने गीत ‘धादिङ जिल्ला सेरो–फेरो’ सार्वजनिक

धादिङ — चर्चित गायक सागर बीसी र गायिका भावना अर्यालको सुमधुर स्वरमा सजिएको नयाँ गीत “धादिङ जिल्ला सेरो–फेरो” सार्वजनिक भएको छ । धादिङ जिल्लाको मौलिक कला, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनालाई मुख्य विषयवस्तु बनाइएको यो गीतले जिल्लाको चिनारीलाई सांगीतिक कोसेलीमार्फत विश्वमाझ पुर्‍याउने जमर्को गरेको छ । गीतले मनोरञ्जन मात्र नभई धादिङका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा निर्माण पक्षले लिएको छ ।

गीतको शब्द तथा संगीत पक्ष निकै सबल रहेको छ । सीताराम परियारका शब्दहरूमा सजिएको यस गीतमा संगीतकार तथा गायक स्वयं सागर बीसीले संगीत भरेका छन् । आधुनिक वाद्यवादन र लोकलयको मौलिक स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरिएको हुँदा गीत कर्णप्रिय बनेको छ । गीतलाई अझ मिठासपूर्ण बनाउन पृष्ठभूमि गायनमा रुपी सिन्जाली मगर, ज्ञानु परियार, राजेन्द्र बजुराली र सागर बजुरालीले साथ दिएका छन् ।

कृष्ण केसीको संगीत संयोजन रहेको यस गीतको अडियो पक्षलाई मालश्री स्टुडियोमा तयार पारिएको हो । जसमा सागर बजुरालीले रेकर्डिङ, राजेन्द्र बजुरालीले भोकल एडिट तथा खडक बजुरालीले मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन् ।

गीतको भिडियोतर्फ पनि उत्तिकै मिहिनेत गरिएको देखिन्छ । जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा चर्चित कलाकारहरू विजय पुन, रचना न्यौपाने, रोचक नेपाल र सम्झना थापा पौडेलको जीवन्त अभिनय हेर्न सकिन्छ । करन चाइसर र उनको टिमले खिचेको दृश्यहरूलाई सुजन कोइरालाले सम्पादन तथा रङ संयोजन मार्फत आकर्षक बनाएका छन् । भिडियोमा कलाकारहरूको शृङ्गार स्वोतिका श्रेष्ठले गरेकी छिन् ।

जेबी क्रिएसन्सले पोस्ट–प्रोडक्सन गरेको यस प्रोजेक्टको उत्पादन व्यवस्थापन मनोज जोशी र अमल रावलले गरेका हुन् भने सहायक कोरियोग्राफरका रूपमा अमर रावल “कोशी” रहेका छन् । भावना अर्याल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले धादिङको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ । गीत सार्वजनिक भएलगत्तै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया आउने क्रम सुरु भएको छ ।

Leave a Reply