पोर्चुगल — पोर्चुगलको नागरिक सुरक्षा विभाग (PROCIV) ले टेजो नदीको तटीय क्षेत्र र आसपासका बस्तीहरूमा बाढीको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणका लागि विशेष चेतावनी जारी गरेको छ । लिस्बन महानगरीय क्षेत्र र टेजो नदीको बेसिनमा बसोबास गर्ने नागरिकहरूलाई मोबाइलमा ‘अलर्ट’ सन्देश पठाउँदै विभागले उच्च सतर्कता अपनाउन र सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको हो । पछिल्लो समयमा भएको निरन्तर वर्षा र नदीको माथिल्लो क्षेत्रमा रहेका बाँधहरूबाट पानीको बहाव बढेका कारण नदीको सतहले खतराको तह पार गर्न सक्ने देखिएको छ ।
विशेषगरी नदी किनारका होचा भूभाग र तटीय क्षेत्रहरूमा डुबानको सम्भावना बढी रहेकाले अधिकारीहरूले ती स्थानहरूमा आवतजावत नगर्न सचेत गराएका छन् । बाढीको जोखिम बढ्दा सडकहरू जलमग्न हुन सक्ने र सवारी आवागमनमा समेत गम्भीर असर पर्न सक्ने भएकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र पानी जमेका सडकहरूमा सवारी साधन नलैजान सुझाव दिइएको छ ।
समुन्द्री ज्वारभाटा (High Tide) को समयमा नदीको पानी बस्तीतिर पस्ने जोखिम अझ बढी हुने भएकाले तल्लो तल्लामा बस्ने बासिन्दाहरूलाई आफ्ना महत्त्वपूर्ण सामानहरू सुरक्षित स्थानमा सार्न भनिएको छ ।
नागरिक सुरक्षा विभागले यो स्थिति केही समयसम्म रहन सक्ने भन्दै स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई उच्च तयारीको अवस्थामा राखेको छ । मौसममा सुधार नआएसम्म र नदीको बहाव सामान्य नभएसम्म सबैलाई आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन र आपत्कालीन अवस्था आएमा तत्काल स्थानीय उद्धार टोलीलाई खबर गर्न अनुरोध गरिएको छ । सुरक्षालाई ध्यानमा राख्दै लिइएका यी कदमहरूले सम्भावित क्षति कम गर्ने अपेक्षा गरिएको छ ।





