लिस्बन (पोर्चुगल) — नेपाली राजदूतावास लिस्बनले विद्युतीय राहदानी (ई-पासपोर्ट) को अनलाइन आवेदन फाराम आज (शुक्रबार) साँझ ५ बजेदेखि खुलेको छ । दूतावासले एक सूचना जारी गर्दै सन् २०२६ को फेब्रुअरी महिनाको तेस्रो र चौथो हप्ताका लागि अपोइन्टमेन्ट खुल्ला गरेको जानकारी दिएको हो ।
विशेष गरी राहदानीको म्याद सकिन एक वर्ष वा सोभन्दा कम समय बाँकी रहेका पोर्चुगलबासी नेपाली नागरिकहरूलाई लक्षित गर्दै यो आवेदन खुला गरिएको हो । सेवाग्राहीले राहदानी विभागको आधिकारिक वेबसाइटमा गएर तोकिएको लिंकमार्फत अनलाइन फाराम भर्नुपर्नेछ । अनलाइनमार्फत आफ्नो समय सुरक्षित गरेपछि मात्र तोकिएको मिति र समयमा बायोमेट्रिक्सका लागि दूतावासमा उपस्थित हुन अनुरोध गरिएको छ ।
बायोमेट्रिक्सका लागि लिस्बनको ‘रुवा पेरो द आलेन्कर २९’ (Rua Pero de Alenquer 29) स्थित राजदूतावासको कार्यालयमा जाँदा आवेदकले अनलाइन भरेको फारामको प्रिन्ट आउट, हालको सक्कल राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र तथा तिनका प्रतिलिपिहरू अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ ।
त्यसैगरी, नाबालिगहरूको हकमा भने कागजातका प्रावधानहरू केही फरक रहेका छन् । नाबालिग आवेदकको बायोमेट्रिक्सका लागि आउँदा नाबालक परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र, आमा तथा बुबाको नागरिकता प्रमाणपत्र र राहदानीका साथै विवाह दर्ता प्रमाणपत्र समेत लिएर आउन दूतावासले सूचित गरेको छ ।
दूतावासले कन्सुलर सेवा प्रवाहका लागि कार्यालय खुलेको दिन बिहान ९:१५ देखि दिउँसो १:१५ सम्मको समय निर्धारण गरेको छ । यस्तै, तयार भएको राहदानी लिन वा राहदानी सम्बन्धी अन्य जानकारी लिन चाहने सेवाग्राहीले भने दिउँसो २ बजेपछि मात्र सम्पर्क गर्नुपर्नेछ ।
थप जानकारी आवश्यक परेमा सेवाग्राहीले दूतावासको आधिकारिक वेबसाइट वा फेसबुक पेज हेर्न सक्नेछन् । साथै, अत्यावश्यक सोधपुछका लागि दूतावासको टेलिफोन नम्बर २१३०११३०८ वा ईमेल eonlisbon@gmail.com मार्फत पनि सम्पर्क गर्न सकिनेछ ।





