Home Login
माल्टा

युरोप भ्रमणमा रहेका गायक सुजन चापागाईं माल्टा आइपुगे

माल्टा – नेपाली सुगम संगीतका प्रख्यात गायक सुजन चापागाईं आफ्नो सांगीतिक टोली ‘द इन्फिनिटी’ ब्याण्डसहित सांगीतिक कार्यक्रमका लागि माल्टा आइपुग्नुभएको छ । “युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६” को शृङ्खला अन्तर्गत पोर्चुगलमा ऐतिहासिक र सफल प्रस्तुति दिएर बुधबार माल्टा अवतरण गर्नुभएका चापागाईंलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । आयोजक संस्था मग्वर्ट प्रोडक्सनका सञ्चालक गणेश लामिछाने लगायतको टोलीले उहाँलाई न्यानो अभिवादनसहित स्वागत गरेको हो ।

आगामी मार्च ६ तारिख, शुक्रबारका दिन माल्टाको प्रख्यात ‘स्काई क्लब’ मा आयोजना हुने यस कन्सर्टलाई लिएर यतिबेला माल्टामा बसोबास गर्ने नेपाली समुदायमा निकै उत्साह देखिएको छ । मग्वर्ट प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको यो कार्यक्रमलाई माल्टाकै हालसम्मकै भव्य र व्यवस्थित सांगीतिक उत्सव बनाउन आयोजक टोली अहोरात्र खटिएको छ । नेपाली सुगम संगीतका पारखीहरूका लागि यो कन्सर्ट एउटा अविस्मरणीय साँझ बन्ने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार कार्यक्रम साँझ ठिक ८ बजेदेखि सुरु हुनेछ । दर्शकहरूको रुचि र सहजतालाई ध्यानमा राख्दै टिकटलाई तीन फरक श्रेणीमा वर्गीकरण गरिएको छ । मञ्चको ठीक अगाडि बसेर सोफाको आरामदायी सुविधासहित कन्सर्टको आनन्द लिन चाहनेहरूका लागि ‘अति विशिष्ट’ व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, माथिल्लो तल्ला अर्थात् बाल्कोनीबाट मञ्चको स्पष्ट दृश्य र सांगीतिक माहोललाई नियाल्न चाहनेहरूका लागि ‘विशिष्ट’ श्रेणी तथा मञ्चको अगाडि उभिएर गायकसँगै नाच्दै र गाउँदै रमाउन चाहने युवापुस्ताका लागि ‘साधारण’ टिकटको व्यवस्था गरिएको छ ।

सांगीतिक साँझको सुरुवातलाई सुमधुर बनाउन स्थानीय ‘एनएमबी ब्यान्ड’ ले आफ्नो विशेष प्रस्तुति दिनेछ । सुजन चापागाईं र द इन्फिनिटी ब्याण्डको मुख्य आकर्षणपछि पनि कार्यक्रमको रौनक सकिने छैन । रातभरको माहोललाई तताउनका लागि बेलायतबाट विशेष रूपमा आमन्त्रित चर्चित डिजे काजी (DJ KAZII) ले आफ्नो जादुमयी धुनहरू प्रस्तुत गर्नेछन्, जसले दर्शकलाई कार्यक्रमको अन्त्यसम्म उत्तिकै ऊर्जावान् राख्नेछ ।

यस पटकको कन्सर्टमा संगीतसँगै भाग्यशाली दर्शकका लागि आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । ‘पाइला टुर्स’ सँगको सहकार्यमा आयोजकले एक बम्पर उपहार योजना अघि सारेका छन् । टिकट खरिदकर्ताहरू मध्येबाट गोलाप्रथाद्वारा छानिने एक भाग्यशाली विजेताले दुईतर्फी हवाई टिकटसहित ४ दिने स्विजरल्याण्ड भ्रमणको आकर्षक प्याकेज प्राप्त गर्नेछन् ।

मग्वर्ट प्रोडक्सनले यस वृहत् कार्यक्रममा सहभागी हुन र आफ्नो सिट सुरक्षित गर्नका लागि ‘हाम्रो इभेन्ट्स’ (Hamro Events) को आधिकारिक वेबसाइटमार्फत अनलाइन बुकिङ खुल्ला गरिसकेको छ । माल्टामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो ऐतिहासिक सांगीतिक उत्सवमा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन आयोजकले हार्दिक अपिल गरेको छ ।

Leave a Reply