Home Login
पोर्चुगल

लिस्बनको बेनफोर्मोसोमा ‘ड्राइभ-बाई’ गोलीकाण्ड; तीन जना घाइते, एकको अवस्था गम्भीर

पोर्चुगल — लिस्बनको ब्यस्त र बहुसांस्कृतिक पहिचान बोकेको रुआ डो बेनफोर्मोसो क्षेत्रमा आज बिहानै एउटा कारबाट अन्धाधुन्ध गोली प्रहार भएको छ । मध्यरातपछि भएको यस ‘ड्राइभ-बाई सुटिङ’ ले स्थानीय क्षेत्रमा सन्त्रास फैलाएको छ। सडकमा गुडिरहेको एक अज्ञात कारबाट अचानक चलाइएको गोली लागेर तीन जना पुरुष घाइते भएका छन् ।

घाइते हुनेहरू २९ देखि ४३ वर्ष उमेर समूहका रहेका छन् । जसमध्ये छातीमा गोली लागेका एक व्यक्तिको अवस्था निकै गम्भीर छ । उनलाई तत्काल साओ जोसे अस्पताल लगिएको र त्यहाँ उनको आकस्मिक शल्यक्रिया गरिएको छ । अन्य दुई घाइतेहरूको अवस्था भने खतरामुक्त रहेको बताइएको छ; जसमध्ये एक जनाको खुट्टामा र अर्कोको टाउकोमा चोट लागेको छ । उनीहरूलाई पनि उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको छ ।

सार्वजनिक सुरक्षा प्रहरी (PSP) का अनुसार आक्रमणकारीहरूले गुडिरहेको गाडीभित्रैबाट गोली चलाएका थिए र अहिलेसम्म उक्त गाडीको नम्बर प्लेट पत्ता लाग्न सकेको छैन । घटनास्थलमा पुगेको न्यायिक प्रहरी (PJ) ले अनुसन्धानका क्रममा प्रयोग गरिएको हतियार र गोलीका केही खोकाहरू बरामद गर्न सफल भएको छ ।

आप्रवासी समुदायहरूको मिश्रणका कारण सधैं चर्चामा रहने यो सडक १४ महिनाअघि भएको प्रहरी छापाका कारण पनि समाचारको केन्द्रमा थियो । अहिलेको घटनापछि यस क्षेत्रको सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ र दोषीको खोजीका लागि प्रहरीले विशेष निगरानी बढाइरहेको छ ।

Leave a Reply