लिस्बन (पोर्चुगल) — ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ अन्तर्गत गायक सुजन चापागाईं र ‘द इन्फिनिटी’ ब्याण्डको सांगीतिक प्रस्तुति पोर्चुगलको राजधानी लिस्बनमा भव्यताका साथ सम्पन्न भएको छ । सोमबार, मार्च २ तारिखका दिन लिस्बनस्थित प्रसिद्ध सांगीतिक स्थल ‘लिस्बोआ आओ भिभो’ मा आयोजित उक्त कन्सर्टमा पोर्चुगलमा रहेका नेपाली दर्शकहरूको ऐतिहासिक र बाक्लो उपस्थिति रहेको थियो ।
दर्शकहरूको अद्भूत ऊर्जा र उत्साहले कार्यक्रमलाई साँच्चै नै ऐतिहासिक र पूर्ण रुपमा सफल बनायो । राति १० बजेदेखि सुरु भई बिहान ४ बजेसम्म सञ्चालन भएको यस सांगीतिक रातमा दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए । राति साढे १२ बजेदेखि मञ्चमा उत्रिएका गायक सुजन चापागाईं र ‘द इन्फिनिटी’ ब्याण्डले लगातार करिब तीन घण्टासम्म आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए । उनीहरूको दमदार प्रस्तुतिले त्यहाँ उपस्थित सम्पूर्ण दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो । आयोजक र दर्शक दुवैले पोर्चुगलको नेपाली इतिहासमै यस कन्सर्टले उत्कृष्ट दर्शक, उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट मनोरञ्जनको नयाँ मापदण्ड खडा गरेको दाबी गरेका छन् । दर्शकहरूले आयोजक र कलाकारलाई मनदेखि नै खुसी हुँदै धन्यवाद समेत व्यक्त गरेका थिए ।
यो भव्य कार्यक्रम गुरुङ केएनएस ईन्टरटेन्मेन्ट, केन्द्र मोशन पिक्चर्स र नेल्स इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा सम्पन्न भएको हो । मुख्य कलाकारको प्रस्तुति सुरु हुनुअघि आयोजक संस्था गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङले छोटो मन्तव्य राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले विशेषगरी मिडिया पार्टनरको रूपमा रहेका ‘मेरो अनलाइन टिभी’ र ‘युरोपाटी डट कम’ लगायत व्यवस्थापनमा खटिने सम्पूर्ण सहयोगी हातहरूप्रति आभार व्यक्त गर्नुभयो । अहिलेसम्म पोर्चुगलमा आयोजना भएका कन्सर्टहरू भन्दा नितान्त फरक, स्तरीय व्यवस्थापन र दर्शकहरूको उत्साहजनक उपस्थितिका कारण भविष्यमा अन्य आयोजकहरूलाई पनि यस्तै गुणस्तरीय कार्यक्रम गर्न ठूलो हौसला मिलेको आयोजकले बताएका छन् ।
समग्र युरोप टुरको मुख्य व्यवस्थापन गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र मामा इभेन्ट्सले सम्हालेका छन् भने केन्द्र मोशन पिक्चर्सले मुख्य सहयोगीको भूमिका निर्वाह गरेको छ । फेब्रुअरी १४ तारिख फिनल्याण्डको राजधानी हेलसिंकीबाट सुरु भएको यस सांगीतिक यात्राले फेब्रुअरी १६ मा बेल्जियम, १८ मा फ्रान्स, २० मा जर्मनी र २७ मा डेनमार्कमा सफलतापूर्वक आफ्ना उत्कृष्ट प्रस्तुतिहरू दिइसकेको छ । पोर्चुगलको यो ऐतिहासिक कन्सर्टपश्चात् अब यस टुरको अन्तिम सांगीतिक कार्यक्रम आगामी मार्च ६ तारिखका दिन माल्टामा आयोजना हुँदैछ ।





