पोर्चुगल — पोर्चुगल सरकारले आप्रवासीहरूका लागि पारिवारिक पुनर्मिलन सम्बन्धी विवादास्पद नयाँ प्रस्ताव रद्द गरेको छ । जुलाई ९, २०२५ मा भएको यो निर्णयसँगै अबदेखि पहिलेकै नियमहरू पुनर्स्थापित भएका छन्, जसले गर्दा पोर्चुगलमा बस्ने आप्रवासी समुदायले ठूलो राहत महसुस गरेका छन् ।
केही हप्ताअघि, सरकारले आप्रवासन कानुनमा सुधार गर्ने भन्दै एउटा नयाँ प्रस्ताव अघि सारेको थियो । उक्त प्रस्तावमा पोर्चुगलमा कानुनी रूपमा बसोबास गरिरहेका विदेशी नागरिकले आफ्नो परिवार (श्रीमान्/श्रीमती, छोराछोरी वा आश्रित आमाबुबा) लाई पोर्चुगल बोलाउनका लागि कम्तिमा दुई वर्ष निरन्तर कानुनी रूपमा बसोबास गरेको हुनुपर्ने प्रावधान राखिएको थियो ।
यो प्रस्तावले पोर्चुगलमा रहेका नेपालीलगायत अन्य आप्रवासी समुदायमा ठूलो चिन्ता छाएको थियो, किनभने यसले परिवारबाट लामो समयसम्म छुट्टिएर बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गर्ने देखिन्थ्यो ।
रद्द गरिएका नयाँ नियमहरू :
दुई वर्षे प्रतीक्षा अवधि : मुख्य आवेदकले पोर्चुगलमा कानुनी बसोबासको अनुमति पाएको दुई वर्षपछि मात्र पारिवारिक पुनर्मिलनका लागि आवेदन दिन पाउने कडा प्रावधान।
अन्य कडा सर्तहरू : नयाँ प्रस्तावमा आवास र आर्थिक स्रोतसम्बन्धी थप कडा सर्तहरू पनि समावेश गर्ने तयारी थियो।
पुनर्स्थापित गरिएका पुराना नियमहरू :
तत्काल आवेदनको अधिकार : पोर्चुगलमा कानुनी रूपमा बसोबासको अनुमति प्राप्त गरेलगत्तै आफ्नो परिवारका सदस्यलाई पुनर्मिलनका लागि आवेदन दिन पाइनेछ ।
आधारभूत आवश्यकता : आवेदकले आफ्नो परिवारलाई पोर्चुगलमा राख्नका लागि पर्याप्त आवास र आर्थिक स्रोत भएको प्रमाण पेस गर्नुपर्ने पहिलेकै व्यवस्था कायम रहनेछ ।
यो निर्णय आप्रवासीहरूको अधिकार र पारिवारिक एकताको पक्षमा प्राप्त भएको एक महत्त्वपूर्ण सफलताको रूपमा हेरिएको छ । प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले केही समयअघि नै पारिवारिक पुनर्मिलनको अधिकारलाई सुरक्षित राखिने र निलम्बन नगरिने आश्वासन दिनुभएको थियो । सोही आश्वासनलाई सरकारले जुलाई ९ को निर्णय मार्फत कार्यान्वयनमा ल्याएको हो ।
सरकारको यो कदमको आप्रवासी अधिकारकर्मी तथा विभिन्न संघसंस्थाहरूले स्वागत गरेका छन् । उनीहरूले यो निर्णयले पोर्चुगल आप्रवासीहरूका लागि एक स्वागतयोग्य र मानवीय मुलुकको रूपमा आफ्नो पहिचान कायम राखेको बताएका छन् । यो निर्णयसँगै अब पोर्चुगलमा रहेका हजारौं आप्रवासीहरूले बिना कुनै लामो प्रतीक्षा आफ्नो परिवारलाई साथमा राख्ने प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।