Home Login
प्रवास

युरोपमा सस्तो सपिङको युग अन्त्य ; साना पार्सलमा पनि शुल्क लाग्ने

पोर्चुगल  युरोपेली संघ (ईयु) ले अनलाइन सपिङमार्फत विदेशबाट सामान मगाउने उपभोक्ताहरूलाई प्रत्यक्ष प्रभाव पार्ने गरी आफ्नो भन्सार नियममा ठूलो परिवर्तन गरेको छ । अब युरोपभित्र प्रवेश गर्ने जस्तोसुकै साना र सस्तो सामानमा पनि भन्सार शुल्क तिर्नुपर्ने भएको छ । संघले बुधबार औपचारिक रूपमा नयाँ नियम स्वीकृत गर्दै १ सय ५० युरोसम्मका सामानमा हाल दिइँदै आएको भन्सार छुटलाई पूर्ण रूपमा हटाउने निर्णय गरेको हो ।

विशेष गरी ई-कमर्स वा अनलाइन सपिङलाई व्यवस्थित गर्न ल्याइएको यो नियमले युरोपेली बजारमा ‘अनुचित प्रतिस्पर्धा’ रोक्ने उद्देश्य राखेको छ । यसअघि १ सय ५० युरोभन्दा कमका विदेशी सामानहरू बिना भन्सार भित्रिँदा स्थानीय युरोपेली बिक्रेताहरू मर्कामा परेका थिए । नयाँ व्यवस्था लागू भएपछि, युरोपेली भन्सार डेटा केन्द्र पूर्ण रूपमा सञ्चालनमा नआउन्जेलका लागि अस्थायी रूपमा प्रति वर्ग सामानमा ३ युरोको शुल्क लगाइनेछ । यो नियमले चीन लगायतका देशबाट आउने सस्तो सामानको बाढीलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

यो शुल्क कसरी लाग्छ भन्ने बुझ्न एउटा उदाहरण हेर्न सकिन्छ । आगामी सन् २०२६ को जुलाई १ देखि सामानको प्रकृति वा वर्ग हेरेर शुल्क गणना गरिनेछ । जस्तै, यदि कसैले एउटा रेशमको ब्लाउज र दुईवटा ऊनी ब्लाउज अर्डर गर्यो भने, ती दुई फरक–फरक वर्गका सामान मानिनेछन् । यस्तो अवस्थामा उपभोक्ताले दुई पटकको ३–३ युरो गरी कुल ६ युरो भन्सार शुल्क तिर्नुपर्ने हुन्छ । यो व्यापक भन्सार सुधार योजना सन् २०२८ सम्ममा पूर्ण रूपमा कार्यान्वयनमा आउने अनुमान गरिएको छ ।

युरोपेली आयोगको तथ्याङ्कले यो निर्णयको गाम्भीर्यतालाई पुष्टि गर्छ । सन् २०२२ देखि युरोपमा आउने साना पार्सलहरूको संख्या हरेक वर्ष दोब्बर हुँदै गएको छ । सन् २०२४ मा मात्रै ४ अर्ब ६० करोड यस्ता पार्सलहरू युरोपेली बजारमा भित्रिएका थिए, जसमध्ये ९१ प्रतिशत पार्सल चीनबाट आएका थिए । यो नयाँ निर्णयले युरोपेली संघको बजेट र सदस्य राष्ट्रहरूको आम्दानीमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

Leave a Reply