पोर्चुगल — पोर्चुगलको पर्यटकीय सहर पोर्टिमओले यस वर्षको आधिकारिक चिनियाँ नयाँ वर्ष समारोहको भव्य आयोजना गर्ने भएको छ । फेब्रुअरी २० देखि २८ सम्म चल्ने यो साताव्यापी उत्सवमार्फत ‘घोडा वर्ष’ को स्वागत गरिनेछ ।
पोर्चुगलस्थित चिनियाँ दूतावास र पोर्टिमओ सिटी काउन्सिलको संयुक्त आयोजनामा हुने “ह्याप्पी चाइनिज न्यु इयर” कार्यक्रमले सहरको पुरानो माछा बजार र नदी किनारको क्षेत्रलाई चिनियाँ कला र संस्कृतिले रङ्गीन बनाउनेछ ।
उत्सवको मुख्य आकर्षण फेब्रुअरी २० मा दिउँसो ३ बजे लार्गो दा एन्टिगा लोटामा हुने उद्घाटन समारोह हुनेछ । यस अवसरमा चिनियाँ संस्कृतिको पहिचान बोकेका प्रख्यात ड्रागन र लायन नृत्य का साथै विभिन्न सांगीतिक र लोक नृत्यहरू प्रस्तुत गरिनेछन् । साथै, पारिवारिक पुनर्मिलनको पर्व मानिने वसन्त महोत्सवका चलनहरूलाई बुझाउने वृत्तचित्र प्रदर्शनीको पनि उद्घाटन गरिनेछ, जसले आगन्तुकहरूलाई चिनियाँ परम्पराको गहिराइमा पुर्याउने विश्वास लिइएको छ ।
फेब्रुअरी २१ र २२ को सप्ताहन्तमा पनि बिहान ११ बजे र दिउँसो ३ बजे कुङ फु प्रदर्शन, परम्परागत संगीत तथा नृत्यका कार्यक्रमहरू निरन्तर चल्नेछन् । पुरानो माछा बजार भवनमा चिनियाँ सुलेखन सत्रहरू सञ्चालन हुनेछन् भने फेब्रुअरी २८ सम्म बिहान १० देखि साँझ ५ बजेसम्म लोककथा र परम्परा झल्काउने फोटोग्राफी प्रदर्शनी अवलोकन गर्न सकिनेछ ।
यो कार्यक्रम लिस्बनस्थित मकाउ आर्थिक तथा व्यापार प्रतिनिधिमण्डल, मकाउ पर्यटन सेवा निर्देशनालय र दक्षिणी पोर्चुगलको चिनियाँ नयाँ वर्ष आयोजक समितिको संस्थागत सहयोगमा आयोजना हुन लागेको हो । आयोजकका अनुसार स्थानीय बासिन्दा, विदेशी पर्यटक तथा सम्पूर्ण समुदायलाई चिनियाँ संस्कृतिसँग परिचित गराउने उद्देश्यले आयोजना गरिएको यस उत्सवका सबै गतिविधिहरूमा प्रवेश निःशुल्क गरिएको छ ।





