Home Login
प्रवास

बाढीको चपेटामा पोर्चुगल ; राहतका लागि अर्बौँको कोष घोषणा

लिस्बन (पोर्चुगल)  यतिबेला युरोपेली मुलुक पोर्चुगल प्राकृतिक विपत्ति र राजनीतिक सरगर्मीको दोसाँधमा उभिएको छ । विगत केही दिनदेखि आएका ‘क्रिस्टिन’ र ‘लियोनार्डो’ नामक शक्तिशाली आँधीका कारण देशका विभिन्न भाग जलमग्न भएका छन् भने जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ । यसै कठिन परिस्थितिका बीच आगामी फेब्रुअरी ८, आइतबारका दिन पोर्चुगलले आफ्नो नयाँ राष्ट्रपतिका लागि दोस्रो चरणको ऐतिहासिक मतदान गर्दैछ ।

विभिन्न अनलाइन सञ्चारमाध्यमहरूका अनुसार बाढी र आँधीका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ पुगेको छ । दक्षिणी पोर्चुगलको सेर्पामा बाढीले कार बगाउँदा एक वृद्धको मृत्यु भएसँगै मृतकको संख्या बढेको हो ।

टेजो, सादो र डौरो जस्ता प्रमुख नदीहरूले खतराको सतह नाघेपछि सान्तारेम, अल्कासेर दो साल र पोर्टोका तटीय क्षेत्रहरू नराम्ररी डुबानमा परेका छन् । बाढीका कारण सयौँ मानिस विस्थापित भएका छन् भने हजारौँ घरहरूमा क्षति पुगेको छ । धेरै ठाउँमा पहिरो जाने र सडक भत्किने क्रम जारी रहँदा राजधानी लिस्बन र पोर्टो जोड्ने रेल सेवा समेत अवरुद्ध भएको छ ।

विपद्को सामना गर्न प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकबाट २.५ अर्ब युरो (साढे २ अर्ब युरो) को विशाल राहत प्याकेज घोषणा गर्नुभएको छ । यो रकम बाढीबाट क्षतिग्रस्त घरहरूको पुनर्निर्माण, किसानहरूलाई क्षतिपूर्ति र व्यवसाय सुचारु गर्न खर्च गरिनेछ । सरकारले बाढी पीडित परिवारका लागि प्रतिव्यक्ति ५३७ युरोसम्मको तत्काल आर्थिक सहायता र क्षतिग्रस्त घर मर्मतका लागि १०,००० युरोसम्मको अनुदान दिने निर्णय गरेको छ ।

साथै, प्रभावित क्षेत्रमा बैंकको ऋण किस्ता तिर्ने अवधि ९० दिनका लागि सारिएको छ । राष्ट्रपति मार्सेलो रेबेलो डि सुसाले प्रभावित क्षेत्रको भ्रमण गर्दै राहत वितरण कार्यलाई तीव्रता दिन र पीडितको घाउमा तत्काल मलम लगाउन सरकारलाई निर्देशन दिनुभएको छ ।

बाढीको संकटका बीच पोर्चुगल आइतबार हुने राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको तयारीमा जुटेको छ । गत जनवरी १८ मा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि अब शीर्ष दुई उम्मेदवारबीच निर्णायक प्रतिस्पर्धा हुन लागेको हो । आइतबारको चुनावी मैदानमा समाजवादी पार्टी (PS) का मध्यमार्गी नेता एन्टोनियो जोजे सेगुरो र दक्षिणपन्थी चेगा पार्टीका नेता आन्द्रे भेन्चुरा आमनेसामने हुनेछन् ।

पहिलो चरणमा ३१ प्रतिशत मतका साथ अग्रस्थानमा रहेका ६३ वर्षीय सेगुरोलाई उदारवादी र लोकतान्त्रिक शक्तिहरूको समर्थन रहेको छ भने २३.५ प्रतिशत मत पाएका ४३ वर्षीय भेन्चुराले परिवर्तनको नारा दिइरहेका छन् । बाढीका कारण केही ठाउँमा मतदान केन्द्रहरू प्रभावित हुन सक्ने भए पनि सरकारले सुरक्षा र व्यवस्थापनका लागि उच्च सतर्कता अपनाएको छ । ४० वर्षपछि पहिलो पटक पोर्चुगलमा राष्ट्रपतिको लागि दोस्रो चरणको मतदान हुन लागेकाले यस निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।

अहिले पोर्चुगलमा सरकारले बाढी पीडितको उद्धार र चुनावी सुरक्षालाई एकसाथ प्राथमिकतामा राखेर काम गरिरहेको छ । मौसम विभागले अझै केही दिन वर्षा हुन सक्ने चेतावनी दिएकाले नागरिकहरूलाई सतर्क रहन र चुनावी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ ।

Leave a Reply