Home Login
प्रवास

राहदानी नवीकरणका नाममा ठगी गर्नेदेखि सावधान रहन आग्रह

रोमानिया — रोमानियामा रहेका नेपाली समुदायलाई लक्षित गरी आगामी मार्च ११ देखि १५ सम्म आयोजना हुन लागेको राहदानी नवीकरण घुम्ती शिविरको सन्दर्भ पारेर केही अनधिकृत व्यक्तिहरूले भ्रम फैलाउन थालेको  छ । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले “फारम भर्न सहयोग गर्ने” बहानामा आफ्नो ह्वाट्सएप नम्बरहरू सार्वजनिक गर्दै सेवाग्राहीलाई लोभ्याउने र भ्रममा पार्ने कार्य गरिरहेको पाइएको हो ।

केही व्यक्तिहरूले व्यक्तिगत, आर्थिक वा अन्य कुनै अनुचित लाभ लिने उद्देश्यले सामाजिक सञ्जालमा भ्रम फैलाइरहेका छन् । यस्ता व्यक्तिहरूसँग सम्पर्क नगर्न र आफ्नो व्यक्तिगत विवरणहरू साझा नगर्न रोमानियामा रहेका नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा आग्रह गरेका छन् ।

राहदानी नवीकरणका सम्पूर्ण प्रक्रियाहरू केवल आधिकारिक निकाय र दूतावासको प्रत्यक्ष संयन्त्रमार्फत मात्र सम्पन्न गरिने उल्लेख गरिएको छ । यदि कसैले सहयोग गर्ने बहानामा रकम माग गरेमा वा भ्रामक प्रचार गरेमा त्यस्ता व्यक्तिहरू विरुद्ध सम्बन्धित कानुनी निकायमा औपचारिक उजुरी गरिने शेर्पाले चेतावनी समेत दिएका छन् ।

अहिलेको समयमा राहदानी जस्तो महत्त्वपूर्ण परिचयपत्र बनाउने क्रममा सावधानी अपनाउनु अनिवार्य छ । दूतावासले सबै सेवाग्राहीलाई केवल आधिकारिक सूचनामा मात्र विश्वास गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त सजग रहन आग्रह गरेको छ ।

अनधिकृत व्यक्तिहरूका कारण पछि पर्न सक्ने कानुनी झमेला र आर्थिक नोक्सानीबाट बच्नका लागि दूतावासको निर्देशन पालना गर्नु नै बुद्धिमानी हुनेछ ।

Leave a Reply