Home Login
राजदूतावास

स्पेनमा अब प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न नेपाली दूतावास जान नपर्ने, यस्तो छ नयाँ प्रक्रिया ?

म्याड्रिड (स्पेन) — स्पेनस्थित नेपाली राजदूतावासले स्पेनमा बसोबास गर्ने वा नेपालबाट स्पेन आउने तयारीमा रहेका नेपाली नागरिकहरूका लागि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धी अत्यन्त महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ । स्पेन सरकारको नयाँ नियम अनुसार अबदेखि नेपाली राजदूतावास म्याड्रिडबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण नहुने भएको छ ।

दूतावासले आज (सोमबार) एक सूचना जारी गर्दै स्पेन सरकारका निकायहरूमा पेश गर्ने प्रयोजनका लागि आवश्यक पर्ने नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण प्रक्रियामा परिवर्तन भएको जानकारी गराएको हो । स्पेन सरकारबाट प्राप्त पछिल्लो सूचना अनुसार, नेपाल प्रहरीले जारी गरेको चारित्रिक प्रमाणपत्र अब काठमाडौँमा रहेको स्पेनको अवैतनिक वाणिज्य दूतावासबाट प्रमाणीकरण भएको हुनुपर्नेछ । त्यसपछि मात्र उक्त कागज म्याड्रिडमा रहेको प्रमाणीकरण सेवा कार्यालयमा पेश गर्न सकिनेछ ।

यही नयाँ बाध्यात्मक व्यवस्थाका कारण, अब उप्रान्त म्याड्रिडस्थित नेपाली राजदूतावासले स्पेनिस सरकारी निकायमा बुझाउने प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण नगर्ने स्पष्ट पारेको छ ।

नयाँ प्रक्रिया कसरी गर्ने ?

यदि तपाईं स्पेनको सरकारी निकायमा आफ्नो प्रहरी चारित्रिक प्रमाणपत्र पेश गर्न चाहनुहुन्छ भने, अब तपाईंले नेपालबाटै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले, नेपाल प्रहरीको अनलाइन प्रणाली (opcr.nepalpolice.gov.np) मार्फत चारित्रिक प्रमाणपत्रका लागि आवेदन दिनुपर्छ । त्यहाँबाट रिपोर्ट प्राप्त भएपछि, उक्त प्रमाणपत्रलाई नेपाल सरकारको कन्सुलर सेवा विभागको वेबसाइट (att.nepalconsular.gov.np) मार्फत अनलाइन प्रमाणीकरण गराउनुपर्छ ।

कन्सुलर विभागबाट प्रमाणीकरण भइसकेको उक्त प्रमाणपत्रलाई प्रिन्ट गरी काठमाडौँमै रहेको स्पेनको अवैतनिक वाणिज्य दूतावास (Consulate of Spain) मा लगेर प्रमाणीकरण गराउनुपर्ने हुन्छ। काठमाडौँबाट यसरी प्रमाणीकरण भएर आएको सक्कल प्रमाणपत्र (र आवश्यक भएमा त्यसको स्पेनिस अनुवादसमेत) लिएर म्याड्रिडको ‘काले डेल जेनेरल पारदिनास ५५’ (Calle Del Genreal Pardinas n 55, 28006 Madrid) स्थित ‘सर्भिसियो डे लिगलाइजेसन्स’ (Servicio de legalizaciones) मा पेश गर्नुपर्नेछ ।

यो प्रक्रियाले गर्दा अब स्पेनमा रहेका नेपालीहरूले आफ्नो कागजात प्रमाणीकरणका लागि दूतावास धाउनुपर्ने छैन, तर नेपालबाटै स्पेनको वाणिज्य दूतावासको छाप लगाउनुपर्ने अनिवार्य व्यवस्था भएको छ ।

माल्टा जानेहरूका लागि भने पुरानै नियम

दूतावासले यो नयाँ नियम केवल स्पेन सरकारलाई बुझाउने कागजातका हकमा मात्र लागू हुने प्रस्ट पारेको छ । यदि कुनै नेपाली नागरिकले माल्टा सरकार वा माल्टाका निकायहरूमा पेश गर्नका लागि प्रहरी चारित्रिक प्रमाणपत्र बनाउँदै हुनुहुन्छ भने, उहाँहरूको हकमा भने कुनै परिवर्तन भएको छैन । माल्टाको प्रयोजनका लागि साबिक बमोजिम नै म्याड्रिडस्थित नेपाली राजदूतावासबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरिने जानकारी दूतावासले दिएको छ ।

स्पेनमा कागजात पेश गर्नुपर्ने महानुभावहरूले काठमाडौँस्थित स्पेनिस कन्सुलेट र म्याड्रिडस्थित लिगलाइजेसन अफिसको प्रक्रिया अपनाउनु हुन तथा माल्टाका लागि भने दूतावासमै सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

Leave a Reply