जसमान् दर्नाल ‘जिवन’ (क्रोएसिया) — सात समुद्र पारिको बसाइ, कामको चाप, प्रतिकुल मौसम र समयको पाबन्दीका बाबजुद पनि नेपाली कला, संस्कृति र संगीतप्रतिको मोह कत्ति पनि कम भएको छैन । बरु, पछिल्लो समय युरोपेली मुलुक क्रोएसिया नेपाली युवापुस्ताका लागि सांगीतिक सिर्जनाको नयाँ उर्वर थलो बन्दै गएको छ । परदेशी भूमिका तमाम चुनौतीहरूलाई अवसर र सिर्जनामा बदल्दै नेपाली गीत संगीतको संरक्षण, संवर्धन र विकासमा त्यहाँ रहेका नेपाली युवाहरूको सक्रियता लोभलाग्दो देखिएको छ ।
यही सांगीतिक माहोललाई तताउँदै, केही दिनअघि मात्रै गायक मनि काफ्लेले ‘शून्यता’ नामक म्युजिक भिडियो सार्वजनिक गरेका थिए। उक्त एल्बम रिलिज भएको एक साता नबित्दै क्रोएसियामै कर्म गरिरहेका अर्का प्रतिभावान तथा उदयमान युवा गायक कृष्ण अर्यालले आफ्नो नयाँ सांगीतिक कोसेली “ओइ मेरी काली” दर्शक तथा स्रोतामाझ पस्केका छन् ।
नेपालको कैलाली जिल्लामा जन्मिएर दाङलाई आफ्नो स्थायी घर बनाएका गायक अर्याल विगत पाँच वर्षदेखि रोजगारीको सिलसिलामा क्रोएसियामा संघर्षरत छन् । परदेशको कर्मथलोलाई नै साधनाको थलो बनाउँदै आएका अर्यालले यसअघि पनि ५ वटा विभिन्न गीतहरू बजारमा ल्याइसकेका छन् । आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिने क्रममा सार्वजनिक गरिएको यो उनको छैटौं र निकै आशालाग्दो प्रस्तुति हो ।
भर्खरै सार्वजनिक भएको यस गीतको सबल पक्ष भनेको यसमा गायक अर्यालको आफ्नै एकल सिर्जना रहेको छ । गीतका शब्द कोर्ने, संगीत भर्ने र आवाज दिने काम स्वयं गायक कृष्ण अर्यालले नै गरेका छन् । गीतको अडियो पक्ष जति मिठासपूर्ण छ, भिडियो पक्षलाई पनि उत्तिकै आकर्षक बनाइएको छ । म्युजिक भिडियोमा मुख्य पात्रका रूपमा गायक अर्याल स्वयं र निरु परियारको अभिनय देख्न सकिन्छ । साथै, भिडियोमा चर्चित डान्सर तथा स्थापित मोडल अन्जु फगामी मगर ‘सानू’ को विशेष उपस्थिति रहेको छ भने अनुष्का मगर र कमल कडेल लगायतका कलाकारहरूले सहायक भूमिकामा अभिनय गर्दै भिडियोलाई जीवन्त बनाएका छन् ।
गीतको निर्माण पक्षमा क्रोएसियामै रहेका नेपाली कलाकारहरूको सामूहिक प्रयास र सहकार्य उदाहरणीय देखिन्छ । यस गीतको कोरियोग्राफी, निर्देशन तथा रेकर्डिङको सम्पूर्ण जिम्मेवारी अर्का गायक तथा सर्जक मनि काफ्लेले सम्हालेका छन् । भिडियोको छायांकन (सिनेम्याटोग्राफी) को काम ‘डि के क्रियशन’ ले गरेको छ । त्यस्तै, भिडियोको सम्पादन र कलर ग्रेडिङ मिराज अर्यालले गरेका हुन् भने अडियोको मिक्सिङ र मास्टरिङ मनोज खड्काले गरेका छन् ।
प्रवासको व्यस्त जीवनशैलीलाई चिर्दै नेपाली मन र नेपालीपनलाई जोड्ने उद्देश्यले तयार पारिएको यो म्युजिक भिडियो ‘मिराज अर्याल’ नामक युट्युब च्यानल मार्फत विश्वभर रिलिज गरिएको छ ।
हेर्नुहोस् म्युजिक भिडियो :





