पोर्चुगल — पोर्चुगलमा कन्सुलर भिसा लिएर आएका र बसोबास अनुमति (रेसिडेन्सी कार्ड) को पर्खाइमा रहेका आप्रवासीहरूका लागि एजेन्सी फर इन्टिग्रेसन, माइग्रेसन एण्ड एसाइलम (एआईएमए) ले अपोइन्टमेन्ट लिने प्रक्रियालाई थप व्यवस्थित बनाएको छ। अब सेवाग्राहीले सिधै एआईएमएको आधिकारिक सम्पर्क पोर्टल मार्फत आफ्नो भिसाको प्रकृति अनुसार आवेदन दर्ता गराउन सक्नेछन् ।
नयाँ व्यवस्था अनुसार, पोर्चुगल पुगेका भिसा वाहकहरूले contactenos.aima.gov.pt मा गई सम्पर्क फारम भर्नुपर्नेछ । यस प्रक्रियामा आवेदकले आफ्नो भिसाको प्रकार अनुसार सही विकल्प छान्नु अनिवार्य छ । यदि आवेदक CPLP राष्ट्रको नागरिक हो भने उसले विषयको प्रकारमा ‘CPLP’ र उपप्रकारमा ‘CPLP बसोबास अनुमति प्रदान गर्ने’ विकल्प रोज्नुपर्छ । नेपाल लगायत अन्य गैर-CPLP देशका नागरिकहरूले भने विषयको प्रकारमा ‘बसोबास अनुमति’ र उपप्रकारमा ‘कन्सुलर भिसा भएको बसोबास अनुमति (गैर-CPLP)’ छनौट गर्नुपर्नेछ । त्यस्तै, उच्च दक्षता भएका कामदारहरूले सोही खण्ड अन्तर्गत ‘उच्च योग्यता’ को विकल्प छानेर अपोइन्टमेन्ट तय गर्न सक्नेछन् ।
यो आवेदन प्रक्रियालाई पूर्णता दिनका लागि आवेदकले अनलाइन फारममा आफ्नो पूरा नाम, जन्म मिति, राष्ट्रियता, पासपोर्ट नम्बर र भिसा नम्बर जस्ता व्यक्तिगत विवरणहरू सही रूपमा प्रविष्ट गर्नुपर्नेछ । विवरण भरेर मात्र पुग्दैन, आवेदनलाई औपचारिक रूपमा सदर गराउनका लागि आफ्नो पासपोर्ट र भिसाको स्क्यान गरिएको डिजिटल प्रतिलिपि पनि अनिवार्य रूपमा सोही फारममा संलग्न गर्नुपर्ने हुन्छ ।
तथापि, यो अनलाइन सुविधा सबै प्रकारका भिसा वाहकहरूका लागि भने होइन। यो प्रक्रिया केवल लामो अवधिको बसोबास अनुमति प्राप्त गर्ने उद्देश्यले आएका भिसा धारकहरूका लागि मात्र लागू हुनेछ । छोटो अवधिको भ्रमण भिसा वा अस्थायी बसाइको भिसामा पोर्चुगल पुगेका व्यक्तिहरूले यो फारम मार्फत आवेदन दिन मिल्ने छैन ।





