लिस्बन (पोर्चुगल) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा एक विशेष भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आइतबार लिस्बनस्थित ‘एभरेस्ट रेस्टुरेन्ट’ को सभा हलमा आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका नेपाली समुदायको उल्लेख्य र बाक्लो उपस्थिति रहेको थियो ।
प्रवासमा रहेर पनि आफ्नो मातृभूमिको राजनीतिक परिवर्तन र समृद्धिको अभियानमा जोडिने उद्देश्यका साथ आयोजित यस कार्यक्रमले यहाँस्थित नेपालीहरूमा नयाँ उत्साह थपेको छ ।
कार्यक्रमको औपचारिक सुरुवात प्रवास नेपाली सम्पर्क विभाग पोर्चुगलका सचिव शिवराज कँडेलले गर्नुभएको थियो । उहाँले कार्यक्रमको सञ्चालन गर्दै उपस्थित अतिथि तथा सहभागीहरूलाई कार्यक्रमको रुपरेखाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रवास कमिटीका उपसभापति रामप्रसाद भुर्तेलले टाढाको मुलुकमा रहेर पनि देश निर्माणको संकल्प बोकेर उपस्थित हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक स्वागत गर्नुभयो ।
यस कार्यक्रमको मुख्य आकर्षण पार्टी प्रवेशको सत्र रहेको थियो, जहाँ विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको विचार र एजेन्डाप्रति ऐक्यबद्धता जनाउँदै पार्टीको सदस्यता ग्रहण गर्नुभयो । पार्टी प्रवेश गर्नेहरूका तर्फबाट सिता ढकाल, उमेश खड्का र अर्जुन घिमिरेले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । उहाँहरूले परम्परागत राजनीतिको विकल्प र सुशासनका लागि रास्वपाको आवश्यकता महसुस गरेर आफूहरू यस अभियानमा जोडिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रवास नेपाली सम्पर्क विभाग अन्तर्राष्ट्रिय कमिटीका सचिव पदम पन्थीले प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई देशको विकासमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्नुभयो । त्यस्तै, पार्टीको मार्गचित्र र उद्देश्यका बारेमा प्रष्ट पार्दै सल्लाहकार संयोजक प्रेमश्री शेर्पाले रास्वपाले बोकेको समृद्धिको सपना र नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने योजनाका बारेमा विस्तृत चर्चा गर्नुभएको थियो ।
अन्तमा, कार्यक्रमका संयोजक नर फगामी मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै सभा विसर्जन गर्नुभएको थियो । लिस्बनको मुटुमा सम्पन्न यस भेलाले पोर्चुगलमा रास्वपाको संगठन विस्तार र नेपालीहरूबीचको एकतालाई अझ मजबुत बनाएको सहभागीहरूले महसुस गरेका छन् ।





