साइप्रस — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक साइप्रसमा रहेकी एक नेपाली युवतीको सडक दुर्घटनामा परी दुखद निधन भएको छ । गत मंगलबार बिहान काममा जाने क्रममा विद्युतीय स्कुटर (ई–स्कुटर) दुर्घटनामा परी गम्भीर घाइते भएकी २६ वर्षीया लाक्पा डोमा शेर्पाको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटना फेब्रुअरी १० (मंगलबार) बिहान करिब ८ बजे भएको थियो । निकोस प्याटिचिस सडकमा लाक्पाले चलाइरहेको स्कुटर र ५२ वर्षीया महिलाले चलाएको कार एकआपसमा ठोक्किँदा यो घातक दुर्घटना भएको थियो । बिहानको समयमा भएको उक्त दुर्घटनामा परी लाक्पा गम्भीर घाइते भएकी थिइन् ।
दुर्घटना लगत्तै उनलाई तत्काल उद्धार गरी लिमासोलस्थित एक निजी अस्पतालमा पुर्याइएको थियो । अवस्था नाजुक रहेकाले चिकित्सकहरूले उनलाई भेन्टिलेटरमा (इन्ट्युबेट गरेर) राखी उपचार सुरु गरेका थिए । चार दिनसम्म मृत्युसँग संघर्ष गरेकी लाक्पाको स्वास्थ्यमा सुधार आउन सकेन र अन्ततः शनिबार बिहान अस्पतालमै उनको निधन भयो ।
सोलुखुम्बु जिल्ला स्थायी घर भएकी लाक्पा करिब दुई वर्षअघि सुनौलो भविष्यको सपना बोकेर साइप्रस पुगेकी थिइन् । उनी त्यहाँ ‘आउट–लिभिङ’ भिसा अन्तर्गत घरेलु कामदार (हाउस मेड) को रूपमा कार्यरत थिइन् । परदेशमा भएको उनको यो आकस्मिक निधनले साइप्रसमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।
हाल स्थानीय प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी राखेको छ । शवको व्यवस्थापन र नेपाल पठाउने प्रक्रियाका विषयमा स्थानीय निकाय र नेपाली कूटनीतिक नियोगहरू बिच समन्वय हुने अपेक्षा गरिएको छ ।





