लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होछार मनाउनका लागि नेपालका चर्चित गायक उर्गेन दोङ र लोकप्रिय तामाङ सेलो गायिका रमला पाख्रिन युरोपेली मुलुक पोर्चुगल आइपुग्नुभएको छ । नर्वेको सांगीतिक कार्यक्रम सकेर कलाकारद्वय आज बुधबार पोर्चुगल अवतरण गर्नुभएको हो । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको निमन्त्रणामा उहाँहरू यहाँ आयोजना हुन लागेको विशेष सांगीतिक कार्यक्रमका लागि आइपुग्नुभएको हो ।
घेदुङले मञ्जुश्री सम्बत् २८६२ ता ल्हो (घोडा वर्ग) को पावन अवसरमा यही फेब्रुअरी ८ तारिख आइतबारका दिन राजधानी लिस्बनको अल्भलादेस्थित ‘रिपब्लिका दा म्यूजिका’ मा “सोनाम ल्होछार विशेष बृहत् सांगीतिक साँझ-२०२६” आयोजना गरेको छ । पोर्चुगलको अन्तर्राष्ट्रिय विमानस्थलमा कलाकारद्वयलाई स्वागत गर्न संस्थाका अध्यक्ष इमानसिंह तामाङ लगायत कार्यसमितिका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, भाषा, धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । “नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको शान, भेषभुषा, भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिको संरक्षण एवं विश्वभरिका तामाङहरूको एकता अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ यस वर्षको ल्होछार भव्य रूपमा मनाउने तयारी गरिएको छ ।
संस्थाका अध्यक्ष इमानसिंह तामाङका अनुसार, पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गर्दै ल्होछार मनाउन लागिएको हो । कार्यक्रममा लामागुरुहरूबाट विशेष पूजापाठ गरी धार्मिक विधिपूर्वक ल्होछारको शुभारम्भ गरिनेछ ।
उक्त विशेष सांगीतिक साँझमा नेपालबाट आमन्त्रित चर्चित अतिथि कलाकारहरू उर्गेन दोङ र रमला पाख्रिनको विशेष प्रस्तुति रहनेछ भने पोर्चुगलमै रहनुभएका स्थानीय कलाकारहरूले पनि आफ्नो बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू पस्किनेछन् । कार्यक्रममा तामाङ जातिको पहिचान झल्कने विभिन्न सांस्कृतिक झाँकी तथा नृत्यहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
आयोजक संस्थाले पोर्चुगलमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवी तथा पोर्चुगलवासी सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई सोनाम ल्होछारको शुभकामना आदानप्रदान गर्न र मनोरन्जन लिनका लागि हार्दिक अपिल गरेको छ ।





