साइप्रस — इटाली, स्पेन, फ्रान्स र नेदरल्यान्ड्सले संयुक्त रूपमा साइप्रसको सुरक्षाका लागि आफ्ना नौसैनिक युद्धपोतहरू पठाउने निर्णय गरेका छन् । इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले बिहीबार त्यहाँको संसदलाई जानकारी गराउँदै आगामी केही दिनभित्रै ती देशका नौसैनिक टोलीहरू साइप्रस पुग्ने बताएका हुन् ।
मध्यपूर्वमा चर्किएको अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वको असर युरोपेली भूमिमा समेत पर्न थालेपछि साइप्रसलाई सुरक्षित राख्न यो महत्त्वपूर्ण कदम चालिएको हो ।
यस घटनाको मुख्य कारण गत सोमबार साइप्रसमा भएको एक आक्रमण हो । सोमबार बिहानै साइप्रसको अक्रोटिरीमा रहेको बेलायती रोयल एयर फोर्सको सैन्य आधार शिविरमा इरानमा निर्मित ‘शाहेद’ ड्रोनमार्फत आक्रमण भएको थियो । उक्त आक्रमणमा कुनै मानवीय क्षति नभए पनि विमानस्थलको धावनमार्गमा सामान्य क्षति पुगेको थियो । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले इरानी क्षेप्यास्त्रहरू नष्ट गर्नका लागि अमेरिकालाई साइप्रसमा रहेको आफ्नो सैन्य शिविर प्रयोग गर्न अनुमति दिएको केही घण्टापछि नै यो आक्रमण भएको थियो ।
बेलायती रक्षा मन्त्रालय र साइप्रसका अधिकारीहरूका अनुसार उक्त ड्रोन इरानबाट नभई लेबनानबाट प्रहार गरिएको थियो । यस घटनाले शान्त देश मानिने साइप्रसलाई मध्यपूर्वको युद्धमा तान्न सक्ने जोखिम बढाएको छ । यद्यपि, साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलिड्सले भने आफ्नो देश कुनै पनि सैन्य कारबाहीमा सहभागी नभएको र भविष्यमा पनि कुनै युद्धको हिस्सा नबन्ने कुरा स्पष्ट पारेका छन् ।
युरोपेली युनियनको सदस्य राष्ट्र रहेको साइप्रसमाथि सुरक्षा चुनौती थपिएपछि सिङ्गो युरोप यसको बचाउमा उभिएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले साइप्रसको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएलगत्तै ग्रीसले पनि पानीजहाज र लडाकु विमान पठाउने घोषणा गरेको थियो । अहिले इटाली, स्पेन, फ्रान्स र नेदरल्यान्ड्सले पनि आफ्नो नौसेना पठाएर युरोपेली ऐक्यबद्धता र साइप्रसको सुरक्षाप्रति गम्भीरता प्रस्तुत गरेका छन् ।





